राजनीतिचीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किए

चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किए

काठमाडौं । औपचारिक चीन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली बुधबार स्वदेश फर्किएका छन्। शाङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागी हुन उनी भदौ १४ गते चीन प्रस्थान गरेका थिए।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। भ्रमणका क्रममा उनले चीनका राष्ट्रपति सी चिनफिङ र उपराष्ट्रपति हान झेङसँग बेइजिङमा भेटवार्ता गरेका थिए।

शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बहुपक्षीयतामा जोड दिएका थिए। एससिओ २००१ मा स्थापना भएको क्षेत्रीय संगठन हो, जसका चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस पूर्ण सदस्य छन्। अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्र हुन् भने नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, माल्दिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स संवाद साझेदार राष्ट्र हुन्।

शिखर सम्मेलनमा सहभागी हुँदा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित विभिन्न मुलुकका नेतासँग भेटवार्ता गरेका थिए। करिब २५ मिनेट लामो भेटमा ओली र पुटिनले एकअर्कालाई भ्रमणको निम्तो दिएका थिए।

त्यस्तै, उनले माल्दिभ्सका राष्ट्रपति तथा कम्बोडिया, लाओस र भियतनामका प्रधानमन्त्रीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

प्रधानमन्त्री ओली नेतृत्वको २३ सदस्यीय प्रतिनिधिमण्डलमा उनकी पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका उपाध्यक्ष एवम् सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा, सरकारी अधिकारी र पत्रकारहरू सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img