काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसी राष्ट्रघाती नभएको बताएका छन् । आइतबार नेकपा (माओवादी केन्द्र)को ८ औं महाधिवशेनको उद्घाटन समारोहमा बोल्दै कांग्रेस सभापति समेत रहेका देउवाले एमसीसी राष्ट्रघाती भन्नेलाई एकपटक पढ्न सुझाव पनि दिए ।
आफूपनि राष्ट्रवादी भएको भन्दै राष्ट्रघाती काम गर्न आफूलाई आवश्यक नरहेको उनको भनाइ छ । उनलले एमसीसीलाई अघि बढाउनका लागि छलफल भइरहेको पनि बताए ।
उनले सत्ता गठबन्धन कुनै दलको विरोध गर्नका लागि नभएको जिकिर गरे । देउवाले संसद बचाउदै यसलाई पूर्व अवधि चलाउनका गठबन्धन निर्माण भएको बताए ।उनले अब संसदलाई कसैले भंग गर्न नसक्ने उल्लेख गरे । त्यस्तै उनले गठबन्धनलाई चूनावपछि पनि निरन्तरता दिन तयार रहेको बताए ।
देउवाले शान्ति प्रक्रिया र संविधानसभाको चूनावमा प्रचण्डको भूमिका निकै महत्वपूर्ण रहेको बताए । समावेशी समानुपातिक आधार रहेको नेपालको संविधान बनाउनका लागि पनि प्रचण्डको भूमिका रहेको बताए ।
एमसिसीबारे देउवाले आफ्नो धारणा राख्नुभयो: प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसिसीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो व्यक्तिगत धारणा राखेको बताएका छन् ।आइतबार नेकपा माओवादी केन्द्रको महाधिवेशनमा शुभकामना दिन पुगेका प्रधानमन्त्री देउवाले एमसिसी राष्ट्रघाती नभएको र त्यसो भन्नेहरुलाई पढ्न सुझाव दिएका थिए ।
देउवापछि बोलेका प्रचण्डले भने एमसिसीबारे देउवाको व्यक्तिगत विचार भएको गठबन्धनको नभएको संकेत गरेर कार्यकर्तालाई सम्झाउन खोजे । देउवाले आज अत्यन्तै राम्रो बेलेको भन्दै तारिफ गरेका प्रचण्डले एमसिसीका विषयमा भने देउवाको निजी विचार भनेका हुन् ।
‘एमसिसीबारे त प्रमले आफ्नो धारणा राख्नुभयो । बोल्ने स्वतन्त्रता छ । तर उहाँले कहाँ राष्ट्रघात छ, देखाउनुस् म पनि राष्ट्रभक्त हो भनेर स्टेटमेन्ट दिइसक्नुभयो । हामी साझा धारणा बनाएर अघि बढ्छौं’ प्रचण्डले भने ।