लमजुङ – नाम : अविनाश गुरुङ । घर : मध्यनेपाल नगरपालिका–८ डडुवा । अहिले बसोवास मध्यनेपाल भोर्लेटार । उमेर : १७ वर्ष । अध्ययनरत विद्यालय : इशानेश्वर मावि, मध्यनेपाल–६ । पढ्ने विषय : बाली विज्ञान । रुचि : विज्ञान–प्रविधि ।
सानै उमेरदेखि विज्ञान, प्रविधिमा रुचि राख्ने अविनाशले अहिले आफैँले ई–स्कटुर (विद्युतीय स्कुटर) बनाएका छन् । आफैँले बनाएको स्कुटर चढेर उनि विद्यालय पुग्छन । यसैमा घर फर्कन्छन । उनले एक महिना लगाएर ई–स्कुटर बनाएका हुन् ।
अविनाशले याे स्कुटर चढेर विद्यालय आउजाउ गर्न थालेको छ महिना पुगिसकेको छ । दिउँसो पढाइमा व्यस्त रहे पनि बिहान–बेलुकीको समय खर्चेर ई–स्कुटर निर्माण गरेको उनले बताए । ‘विद्यार्थी मान्छे । पढ्नु त पर्याे नै । दिउँसो पढाइमा व्यस्त भइन्थ्यो । बिहान–बेलुकीको समय खर्चेर एक महिनाको समयमा स्कुटर तयार गरेको हो’, उनले भने ।
उनको यस कार्य, प्रयासलाई धेरैले प्रशंसा गर्ने गरेका छन् । ‘धेरैले राम्रो भन्नुहुन्छ । कतिपयले सहयोग पनि गर्नुहुन्छ । अझै धेरै चिज बनाउने योजना, सोच छ । यसका लागि पालिकाबाट सहयोगको अपेक्षा राख्दछु,’ उनले भन्नुभयो ।
प्रविधिमा धेरै रुचि रहनुमा उनीभित्र प्रतिभा रहेको इशानेश्वर माविमा भौतिकशास्त्र पढाउँदै आएका शिक्षक निर्मल अधिकारीले बताए । प्रतिभाको कदर र संरक्षण सबैले गर्नुपर्ने उनले बताए । अविनाशकाे प्रतिभाको प्रस्फुटनका साथै उनको कार्यको प्रचारप्रसारमा विद्यालय जुटिरहको शिक्षक अधिकारीकाे भनाइ छ ।



