सुनसरी / मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।
इटहरीमा बिहिबार सम्पन्न भएको फाइनल खेलमा अर्को बिभागीय टिम शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–० को सोझो सेटले पराजित गर्दै नगद ३ लाख रुपैया हात पारेको छ । उपबिजेतामा सिमित बनेको एपीएफले १ लाख ५० हजार रुपैया पाएको छ ।
इटहरी रंगशालामा भएको खेलको पहिलो सेट २५–१९ ले जितेको पुलिसले दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबकी पुनम चन्द घोषित हुदै नगद ५५ हजार पुरस्कार पाइन ।
बेस्ट स्पाइकर एपिएफकी सरस्वती चौधरी, बेस्ट ब्लकर बागमती प्रदेशकी सुमित्रा रेग्मी, बेस्ट सर्भर पुलिसकी उषा भण्डारी, बेस्ट सेटर पुलिसकी कामना पुन र बेस्ट लिबेरो पुलिसकी शान्ति तामाङ भए । प्रतियोगिताका उत्कृष्ट प्रशिक्षक पुलिस क्लबका रुपेश विष्ट भए । उनीहरुले जनही १५ हजार प्राप्त गरे थिए ।
प्रतियोगिताका विजेता तथा उपविजेतालाई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई, कार्यक्रमकी अध्यक्ष तथा बोर्डकी उपाध्यक्ष जिना कार्की, बोर्डका सदस्य सचिव हंशराज वाग्ले, नेपाल भलिबल संघका उपाध्यक्ष मदन खड्का लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा भएको हो ।