भोजपुर: नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा षडानन्द माध्यमिक विद्यालय प्रथम भएको छ । शुक्रबारदेखि षडानन्द नगरपालिका वडा नं. १ को सन्त सावित्रा माध्यमिक विद्यालयको आयोजनामा भएको प्रतियोगितामा १७ स्वर्ण पदक सहित षडानन्द माध्यमिक विद्यालय प्रथम भएको हो ।
१७ स्वर्ण र ३ कास्य गरि २० पदक सहित षडान्द मावि प्रथम हुँदा ५ स्वर्ण, ७ रजत र ३ कास्य पदक सहित सन्त मावि नेपालेडाँडा दोस्रो भएको छ । त्यस्तै ३ स्वर्ण, ५ रजत र ७ कास्य पदक सहित आयोजक सन्त सावित्रा मावि तेस्रो भएको छ भने १ स्वर्ण, ५ रजत र ५ कास्य गरि ११ पदक सहित अरुण माध्यमिक विद्यालय सान्तवन्न भएको छ ।
नगरपालिका भरि निजि १ सहित १४ वटा माध्यमिक विद्यालयहरु मध्ये ९ वटा विद्यालयले सहभागी जनाएको थियो । यो प्रतियोगितामा प्रथम भएसंगै षडानन्द माध्यमिक विद्यालय नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा लगात्तर तीन पल्ट प्रथम हुन सफल भएको छ ।
विद्यालय स्तरबाट हुने खेल विकासले भोलिको दिनमा खेलाडीहरुलाई समयमै मथिल्लो स्तरमा पुर्याउन मद्दत गर्दछ । सोहि अनुसार यो प्रतियोगिताको लागि नगरपालिकाले बजेटको व्यवस्थापन गरि विद्यालयलाई आयोजनाको जिम्मा लगाएको कार्यक्रमका विशेष अथिति तथा पालिका उपप्रमुख प्रमिला राईको भनाई छ ।
यो प्रतियोगिताले भोलि प्रतिभावान, क्षमतावान साथै खेल क्षेत्रबाट भोलि पालिका, जिल्ला, प्रदेश हुँदै राष्ट्रको समेत गहना हुन सक्ने भएकोले प्रतियोगितालाई मर्यादित साथै सभ्य ढंगबाट सम्पन्न गर्न नगरपालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि सुरेन्द्र कुमार उदासले अनुरोध गरेका छन् । साथै नगर क्षेत्रमा भएको विकास र खेलकुद क्षेत्रको विकासको लागि नगरपालिकाले वृहत योजना सहित कार्यक्रम निर्माण गरिरहेको समेत प्रमुख उदासले बताएका छन् ।