भोजपुर: भलिबल खेललाई प्रोत्साहन गर्ने उद्देश्यका साथ पहाडी जिल्ला भोजपुरको स्थानीय टुँडिखेलमा सञ्चालित प्रथम मेयरकप अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि दमक नगरपालिकाले जित्न सफल भएको छ ।
शनिवार भएको फाइनल खेलमा भोजपुरको षडानन्द नगरपालिकालाई तीन सेटमै हराउँदै दमक नगरपालिका विजेता बन्न सफल भएको हो ।शुक्रवार भएको सेमिफाइनल खेलमा भोजपुरको आमचोक गाउँपालिकालाई हराउँदै दमक नगरपालिका र भोजपुर नगरपालिकालाई पछि पार्दे षडानन्द नगरपालिका फाइनलमा प्रवेश गरेका थिए ।
भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगिताबाट विजेता बनेको दमक नगरपालिकाले नगद एक लाख र उपबिजाते बनेको षडानन्द नगरपालिकाले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ भने सेमिफाइनलमा पुगेका दुई टिमले पनि २५–२५ हजार पाएका छन् ।
गत माघ १० गतेबाट सञ्चालन भएको अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा भोजपुर नगरपालिका, दमक नगरपालिका, षडानन्द नगरपालिका, आमचोक गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, अरुण गाउँपालिका र साल्पासिलिछो गाउँपालिका गरी आठ वटा टिमले सहभागिता जनाएको आयोजक जिल्ला खेलकुद विकास समिति भोजपुरले जनाएको छ ।