ताप्लेजुङ | सदरमुकाममा सोमबार सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सगरमाथा यूथ क्लब मोरङले जितेको छ । सोमबार भएको फाइनलमा सलहेश युवा क्लब सिराहालाई १–० गोल अन्तरले पराजित गर्दै मोरङले उपाधिमाथि कब्जा जमाएको हो ।
उपाधि रक्षाका लागि खेल सुरु भएको तीन मिनेटमा मोरङका विजय भुजेलले गोल गरे । सो गोल नै ताप्लेजुङ गोल्डकपको उपाधि हात पार्न पर्याप्त बन्यो ।
खेलको सुरुवाती अवस्थामा नै मोरङलाई एक गोलको अग्रता प्राप्त भएपछि खेललाई बराबरीमा लैजान सिराहाले निकै आक्रामक खेले पनि सफल बन्न सकेन ।
सगरमाथा यूथ क्लबले नगद पाँच लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो । उपबिजाते बनेको सलहेश युवा क्लबले मेडल, प्रमाणपत्र र नगद दुई लाख ५० हजार ५५५ रुपियाँ ग्रहण गर्यो ।
यसै गरी सोमबार भएको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी सगरमाथाका सौभाग्य राईले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै १५ हजार रुपियाँ पुरस्कार पाए । यस्तै सगरमाथाकै गोलकर्तासमेत रहेका विजय भुजेलले सर्वश्रेष्ठ खेलाडीका रूपमा पुरस्कृत हुँदै १० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरे ।