हेटौँडा । हेटौँडास्थित होटल सामनाको सभाहलमा जारी २५औं पुरुष तथा १०औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा तेस्रो दिनसम्म पाँच चरणका खेल सम्पन्न भएका छन्।
पुरुषतर्फ: रूपेश जैसवाल स्पष्ट अग्रता
पुरुषतर्फ एफएम रूपेश जैसवालले ४.५ अंकसहित स्पष्ट एक अंकको अग्रता कायम गरेका छन्। मंगलबार सम्पन्न खेलमा उनले नेपाल च्याम्पियन झापाका राजन सुवेदीलाई पराजित गरे। त्यस्तै, मकवानपुरका क्षितिज भण्डारी र झापाका शुश्रुत दहाल समान ३.५ अंकसहित संयुक्त दोस्रो स्थानमा उक्लिएका छन्। क्षितिजले काठमाडौंका सिएम नवीन तण्डुकारलाई पराजित गरे भने शुश्रुतले भक्तपुरका विनय थापालाई हराए।
यस्तै, दोलखाका आशिष फुँयाल, काठमाडौंका पुरुषोत्तम सिलवाल र एफएम रिजेन्द्र राजभण्डारी समान ३ अंक सहित संयुक्त तेस्रो स्थानमा छन्।
महिलातर्फ: सिन्दिरा जोशीको अपराजित यात्रा
महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको पाँचौँ चरणसम्म नेसनल वुमन च्याम्पियन सिन्दिरा जोशीले ४.५ अंकसहित स्पष्ट अग्रता बनाएकी छिन्। चार खेलमा जित र एक खेल बराबरी गर्दै उनी अपराजित छिन्।
काठमाडौंकी एन्जल महर्जन र विनिता कपाली समान ४ अंक बनाउँदै संयुक्त दोस्रो स्थानमा छन्। एन्जलले चार जित र एक हार आत्मसाथ गरेकी छिन् भने विनिताले लगातार चार खेलमा जित हात पारेकी छिन्।
त्यस्तै, बाँकेकी ईशा गिरी र मोरङकी शान्ति धिमाल समान ३.५ अंक सहित संयुक्त तेस्रो स्थानमा छन्। दुवैले तीन जित र एक खेल बराबरी खेलेका छन्।
प्रतियोगिताका बाँकी खेलहरूमा शीर्ष स्थानका खेलाडीहरूबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।