हेटौँडा | हेटौँडा–६ गौरीटार रंगशालामा सम्पन्न मकवानपुर महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एपिएफ क्लब (सशस्त्र प्रहरी बल) ले हात पारेको छ। बिहीवार सम्पन्न फाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत गरिएको थियो।
एपिएफका तर्फबाट टाइब्रेकरमा गीता राना मगर, कप्तान अनिता बस्नेत र निशा थोकरले गोल गर्न सफल भए। रश्मि घिसिङको प्रहार नेपाल पुलिस क्लबकी गोलरक्षक उषा नाथले सेभ गरिन्।
उता, नेपाल पुलिसका तर्फबाट गोलरक्षक उषा नाथले मात्र एक गोल गर्न सफल भइन्। कप्तान निरु थापाको प्रहार एपिएफकी गोलरक्षक अञ्जना राना मगरले सेभ गरिन्। रेविका पाण्डेको प्रहार गोलपोस्टमा ठोकिएर फर्कियो भने सुस्मा तामाङको प्रहार बाहिरिन पुग्यो।
भिडियो: टाइब्रेकर
व्यक्तिगत विधामा एपिएफको दबदबा
एपिएफ क्लबकी गोलरक्षक अञ्जना राना मगर फाइनल खेलको प्लेयर अफ दि म्याच घोषित भइन्। उनले नगद १० हजार प्राप्त गरिन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफकी रश्मि घिसिङ घोषित भइन्। उनले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेकी थिइन्, विशेष गरी वीरगंजविरुद्धको खेलमा पाँच गोल र संकटाविरुद्धको खेलमा एक गोल गरेकी थिइन्। उनको यो प्रदर्शनको कदरस्वरूप उनलाई स्कुटर प्रदान गरिएको थियो, जसको हस्तान्तरण प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले गरे।
व्यक्तिगत विधामा एपिएफ क्लबले विशेष सफलता हात पार्यो। उत्कृष्ट गोलरक्षक अञ्जना राना मगर, उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी, र प्रशिक्षक जिवेश कुमार पाण्डे घोषित भए। यता, नेपाल पुलिस क्लबबाट मिना देउवा उत्कृष्ट फरवार्ड र समीक्षा घिमिरे उत्कृष्ट डिफेन्डर घोषित भए। विधागत सबै विजेताहरूले २५/२५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।
एपीएफ र पुलिसको यात्रा
नेपाल पुलिस क्लबले समूह चरणमा रौतहटलाई ४–२ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो। सेमिफाइनलमा चितवनको महिला टिमलाई ७–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।
एपीएफले वीरगंजलाई १२–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो भने सेमिफाइनलमा संकटा क्लबलाई २–० गोलले पराजित गर्दै उपाधि भिडन्तमा पुगेको हो।
पुरस्कार वितरण समारोह
प्रतियोगिताको समापन समारोह एन्फा केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाको सभाध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, तथा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
उपाधिसँगै एपिएफले नगद सात लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता नेपाल पुलिस क्लबले पाँच लाख रुपैयाँमा चित्त बुझाएको छ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा बैशाख १९ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा आयोजकसहित ८ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिससहित मकवानपुर, रौतहट, चितवन जिल्लाको टिमसहित बीरगन्ज युथ एकेडेमी, संकटा र नवजनजागृति युवा क्लबको सहभागिता थिए ।