सुनसरी : भोजपुर जिल्लाको हतुवागढी गाउँपालिका-१ स्थित सगरमाथा माध्यमिकको खेलमैदानमा भएको छैठौं भिमदल राई स्मृति हतुवागढी गोल्डकप सम्पन्न भएको छ ।
आइतबार सम्पन्न आम्तेक ११ फुटबल क्लब र घोडेटार फुटबल क्लबबीचको फाइनल खेलमा घोडेटार विजयी भएको हो । खेल अवधिभर दुवै टिमले रोचक साथै उत्कृष्ट खेल प्रदर्शन गरेतापनी घोडेटार फुटबल क्लबले मध्यान्तर अघि नै एक गोल गर्दै अग्रता लिएको थियो ।फुटबल खेलको विजेता घोडेटार फुटबल क्लबले नगद रु.१ लाख ६६ हजार ६ सय ३० का साथमा रनिङ्ग शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गारेको छ । उपविजेता टिम आम्तेक ११ फुटबल क्लबले नगद रु.१ लाख १ हजार ३० साथमा मेडल र प्रमाण–पत्र प्राप्त गारेको छ ।
भिमदल राई स्मृति प्रतिष्ठानको आयोजनामा पौष १ गते देखि जारी नकआउट चरणको खुल्ला पुरुष फुटबल प्रतियोगिता प्रदेश नम्बर- १ का पूर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख उपस्थितिमा आइतबार खेल सम्पन्न भएको छ । प्रतिष्ठानका संयोजक अनिल कुमार राई, प्रतिष्ठानका संरक्षक सानी राई, पौवादुम्मा गाउँपालिकाका अध्यक्ष किरण राई, हतुवागढी गाउँपनलिका खेलकुदका अध्यक्ष बालकुमार राई तथा सगरमाथा माध्यमिकका प्रधानध्यापक हेमराज न्यौपानेहरू लगायतको उपस्थिति रहेको थियो ।प्रत्येक दुई-दुई वर्षको अन्तरालमा सञ्चालन हुँदै आएको उक्त गोल्डकप कोरोना संक्रमणका कारण अघिल्लो वर्ष सञ्चालन हुन नसकेको थियो र यस वर्ष उक्त गोल्डकप फुटबल प्रतियोगिता भएको हो ।
खेल प्रतियोगितामा प्रतिस्पर्धाको लागि विभिन्न ठाउँबाट १६ टिमहरूको सहभागीता भएर यस खेल खेलिरहेको थियोे । हतुवागढी क्षेत्रमा फुटबल साथै खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यका साथ हतुवागढी गोल्डकपको आयोजना गरिएको भिमदल स्मृती प्रतिष्ठान नेपालका संयोजक अनिल कुमार राईले बताएका छन् ।