एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का खेल निर्देशक लियोनार्डोले सर्जियो रामोसको अवस्थालाई लिएर आश्चर्य व्यक्त गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा लियोनार्डोले रामोसमा चोट पछि चोट देखिँदा आफूहरु आश्चर्यमा परेको बताएका हुन्।
युरोप वानसँग कुराकानी गर्नेक्रममा लियोनार्डोले रामोसमा गत सिजनका केहि चोटहरु बाँकी छ भनेर आफूहरु थाहा भएपनि उनी यति लामो समय सम्म मैदान बाहिर रहन्छन् भने नसोचेको बताए। रामोस पाँच महिना मैदान बाहिर होलान् भनेर आफूहरुले नसोचेको लियोनार्डोको भनाई छ।
“हामीलाई थाहा थियो कि उनमा गत सिजनका चोटहरु छन्। तर यो सत्य हो कि हामीले केहि आश्चर्यहरू समेत पायौं। हामीले चार वा पाँच महिनासम्म रामोस बिना रहने आशा गरेका थिएनौं।”,लियोनार्डोले भने। रामोसको विषयले क्लबलाई केहि समय तनावमा पारेको भएपछि अब सबै ठीक हुँदै गएको लियोनार्डोले बताए। सिजनको पहिलो हाफमा रामोस कम नआए पनि सिजनको दोस्रो हाफमा धेरै काम आउने लियोनार्डोको विश्वास छ।
उनले भने,”त्यहाँ केही तनाव थियो। तर हामीले सकेसम्म राम्रो तयारी गर्यौं र सबै ठीक गर्यौं। तर अहिले उनी सही ट्र्याकमा छन्। सिजनको दोस्रो हाफमा उनी काम आउनेछन्।” रामोस यसै सिजन रियल म्याड्रिडबाट फ्री ट्रान्सफरमा पिएसजी पुगेका हुन्। पिएसजीमा पुगेपछि शरीरले साथ नदिँदा रामोसले डेब्युक लागि धेरै मिहिनेत गर्नु पर्यो। उनको पिएसजी डेब्यु गएको महिना मात्र भएको थियो।