बारा | गत शुक्रबार चितवनको सिमलतालमा भएको बस दुर्घटनामा बेपत्ता भएकी एक युवतीको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ। त्रिशूली नदीमा बससँगै खसेको आठ दिनपछि पनि फेला नपरेपछि बाराको कलैया उपमहानगरपालिका-१४ की सृष्टि यादवको परिवारले यो निर्णय लिएको हो।
हिन्दू धार्मिक परम्पराअनुसार सृष्टिका परिवारजनले कुशको शव बनाएर उनको अन्त्येष्टि गरेका छन्। सृष्टि पर्साको सखुवा प्रसौनी गाउँपालिकास्थित स्वास्थ्य चौकीमा रेडियोग्राफरको रूपमा कार्यरत थिइन्। उनी लोक सेवा आयोगको परीक्षा दिन काठमाडौं जाँदै गर्दा यो दुर्घटनामा परेकी थिइन्।
असार २८ गते बिहान ३ बजेतिर सिमलतालमा आएको पहिरोले दुई वटा बसलाई त्रिशूली नदीमा खसालेको थियो। यस दुर्घटनामा परेका २४ यात्रुको शव नारायणी नदीमा फेला परेको छ, तर बसको अझै पत्ता लागेको छैन।