सुनसरी : धनकुटाको चौबीसे गाउँपालिका वडा नम्बर -६ स्थित राजारानीमा अवस्थित राजारानी ताललाई स्थानीय सरकार २०८०/८१ को पर्यटन वर्ष बनाएर अगाडि बढ्ने योजना रहेको छ ।
धनकुटाको चौबीसे गाउँपालिकाले २०८०/८१ लाई चौबीसेका पर्यटकीय गन्तव्य बनाएर अगाडि बढने योजना रहेको छ । जसमा धनकुटाको मुख्य घुम्न लायक ठाउँ राजारानी ताल रहेको छ ।राजारानी बजारको करिब १ सय ५० रोपनी क्षेत्रफलको यो ताल धेरै वर्ष अघिदेखि संरक्षित छ ।
चौबिसे गाउँपालिकामा चारैतर्फ रमाइला डाँडाहरूले घेरिएर रहेको सानो उपत्यका आकारको बनावट भएको ठाउँलाई राजारानी भनिन्छ । यस उपत्यकामा रहेका २ ओटा ताललाई राजारानी ताल भनिन्छ । यिनै तालको नामबाट यो ठाउँको नाम राजारानी रहेको हो । यहाँ मावरक (आमापोखरी) र पावरक (बाबु पोखरी) भन्ने २ ओटा ताल थिए । यी तालमा खदम राजा र खदम रानी भनिने शक्तिशाली राजारानी बस्ने गर्दथे । वि.सं. १८६२ मा ताल फुटेर पानी बाहिर गएपछि खदम राजा र खदम रानी पाँचथरको याङ्वरकमा गई बसेको भन्ने किंवदन्ती रहेको छ । भेडेटारबाट २० किलोमिटर टाढा रहेको राजारानी नौकाविहारको लागि आकर्षक स्थलसमेत हो ।
यहाँ बोटिङ्ग, फिसिङ्ग, पिक्निक स्पोट, मिनि टावर र सेल्फी पोइन्ट लगायतको व्यवस्था गरिएको छ । गाउँपालिका भित्र पर्यटन, पर्या-पर्यटन, धार्मिक तथा सास्कृतिक पर्यटनको केन्द्र बनाउन स्थानीय निकाय, समुदाय तथा निजि क्षेत्र समेतको सहभागीतामा थप व्यवस्थित गर्दै लानुपर्ने आवश्यक्तालाई गाउँपालिकाले डायरी तयारी पारेको गाउँपालिका अध्यक्ष राजकुमार लिम्बूले बताउनु भयो ।
प्राकृतिक सौन्दर्य, ताल, विभिन्न किसिमका जलचर तथा वनस्पति यस क्षेत्रका मुख्य आकर्षणहरू हुन् । धिमालहरूको पहाड भनेर चिनिने राजारानी धिमालपोखरीको आफ्नै धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ । वरीपरी डाँडैडाँडाले छेकिएको उपत्यकाझैँ देखिने राजारानी क्षेत्रमा ३ ओटा पोखरी र धिमाल तथा मगर समुदायले पूजा गर्ने गरेका २ ओटा मन्दिरहरू छन् ।
यहाँका राजाले युद्ध हारेपछि पोखरीमा गएर राजारानी तथा छोरी राजकुमारीले डुबेर आत्महत्या गरेको भन्ने किंवदन्ती रहेको जानकारहरू बताउँछन् । राजारानीमा ३ ओटा पोखरी रहेका छन् । दायाँतर्फ राजा पोखरी रहेको छ भने बायाँतर्फ रानीपोखरी रहेको छ । रानीपोखरीको छेउमा सानो आकारमा राजकुमारी पोखरी रहेको छ । धिमालहरूले हरेक वर्षको बैशाख २ गते राजारानीमा जात्री पूजा गर्ने गरेका छन् । राजारानीमा पूजा गरी शुरु भएको जात्रीपूजा असार २ गते मोरङको उर्लाबारीस्थित दशबिघेमा समापन हुने गरेको छ ।