काठमाडौँ | भारतको केरला राज्यमा यस वर्ष मनसुन सामान्य समयभन्दा झण्डै १० दिनअघि नै प्रवेश गरिसकेको जलवायु विज्ञहरूले जनाएका छन्। बङ्गालको खाडीको अधिकांश भाग, श्रीलङ्काको सम्पूर्ण भूभाग र भारतको केरलामा मनसुन सक्रिय भइसकेको जानकारी जलवायु विपद् विज्ञ डा. धर्मराज उप्रेतीले दिए ।
डा. उप्रेतीका अनुसार केरला हुँदै नेपाल प्रवेश गर्न मनसुनलाई करिब एक हप्ता लाग्ने भएकाले यदि बिचमा कुनै अवरोध भएन भने यस वर्ष नेपालमा मनसुन औसत समयभन्दा झण्डै डेढ हप्ता चाँडै, अर्थात् जेठको अन्त्यतिर भित्रिन सक्ने प्रक्षेपण गरिएको छ। सामान्यतया नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ (वि.सं. २०८२ जेठ ३०) मानिन्छ।
जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसुनकालीन वर्षा औसतभन्दा धेरै हुने प्रक्षेपण यसअघि नै सार्वजनिक गरिसकेको छ। विभागले वर्षा मात्र नभई तापक्रम समेत औसतभन्दा बढी हुने जानकारी दिएको छ। यद्यपि, मौसम विज्ञहरूका अनुसार वर्षा र तापक्रमको मात्र आधारमा खेतीपाती राम्रो हुन्छ भन्न सकिने अवस्था छैन।
विशेषगरी असमान रूपले हुने भारी वर्षाले बाढी, पहिरो तथा बालीमा क्षति पुर्याउने सम्भावना पनि रहने भएकाले सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्। अर्कोतर्फ, समयमै वर्षा भएमा धान लगायतका प्रमुख बालीहरूको रोपाइँमा सहजता हुने र उत्पादनमा सकारात्मक प्रभाव पर्ने आशा पनि गरिएको छ।
मनसुन चाँडो सुरु भए पनि त्यसको अवधि, तीव्रता र स्थानअनुसारको वितरण महत्वपूर्ण हुने विज्ञहरूको भनाइ छ। तसर्थ, कृषकहरूले लामो समयावधिको मौसम जानकारीको भर मात्र नगरी स्थानीय पूर्वानुमान तथा सल्लाहअनुसार कृषि कार्य सञ्चालन गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।



