हेटौँडा | पश्चिमी वायु, स्थानीय वायुसँगै बंगालको खाडी र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण नेपालभर मौसममा परिवर्तन देखा परेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज मंगलबार दिउँसोदेखि रातिसम्म देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम बुलेटिनमा उल्लेख गरिएको अनुसार, दिउँसो पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भागमा मौसम मुख्यतः सफा देखिनेछ। सो क्रममा पहाडी भूभागका केही स्थानहरूमा र अन्य थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली भूभागहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि देखिएको छ।
यस्तै, राति मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी क्षेत्रमा पनि आंशिकदेखि सामान्य बदली रहनेछ। त्यस क्रममा केही भागमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। हिमाली भेगमा भने हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहेको मौसमविद्हरू बताउँछन्।
मौसमविद्हरूका अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरसम्म पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पर्नु मध्यम वर्षा, ५०–१०० मिलिमिटर भारी, १००–२०० मिलिमिटर धेरै भारी र २०० मिलिमिटरभन्दा माथि पर्नु अति भारी वर्षाको श्रेणीमा पर्ने गर्छ।
त्यस्तै, ‘एक-दुई स्थान’ भन्नाले २५ प्रतिशतभन्दा कम भूभागमा वर्षा हुने संकेत हो भने ‘थोरै स्थान’ भन्नाले २५–३० प्रतिशत र ‘केही स्थान’ भन्नाले ५० प्रतिशतसम्म भूभागमा वर्षा हुने संकेत हो।



