काठमाडौं | पछिल्लो केही घण्टायता सुदूरपश्चिमका डोटी, दिपायल र डडेल्धुराको साहुखर्क क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी क्षेत्रका वर्षा मापन केन्द्रहरूमा लगातारको वर्षाका कारण आकस्मिक बाढीको सम्भावना बढेको भन्दै महाशाखाले दिउँसोसम्म सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार, पश्चिम सेती नदी र त्यससँगै बहने साना खोला तथा भिरालो भूभागमा पहिरोको जोखिम समेत देखिएको छ। कमजोर भौगोलिक संरचना भएका गाउँ तथा बस्तीहरूमा विशेष सावधानी अपनाउन महाशाखाले स्थानीय तह र बासिन्दालाई सुझाव दिएको छ।
त्यस्तै, नवलपरासी पश्चिमको देउराली नवल, चितवनको शक्तिखोर र पाल्पाको बलड्याङगढी क्षेत्रमा पनि आकस्मिक बाढीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अपिल गरिएको छ। यी क्षेत्रहरूमा बाढीले स्थानीय जनजीवन, कृषि र यातायातमा तत्काल प्रभाव पार्न सक्ने भएकाले जोखिम न्यूनीकरणका उपायहरू अवलम्बन गर्न भनिएको छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र कोशी प्रदेशतर्फ मनसुन सक्रिय रहेकाले अधिकांश स्थानमा वर्षाको सम्भावना कायमै छ। वर्षाको मात्रा अनुसार १० मिलिमिटरसम्म हल्का, १०–५० मिलिमिटर मध्यम, ५०–१०० मिलिमिटर भारी, १००–२०० मिलिमिटर धेरै भारी र २०० मिलिमिटरभन्दा माथिको वर्षालाई अति भारी वर्षाको श्रेणीमा राखिने जानकारी समेत महाशाखाले दिएको छ।