काठमाडौ । उच्च अदालत पाटनले पशुपति क्षेत्रको धर्मशालामा सञ्चालन भइरहेको होटल आनन्द प्रा लि लाई कुनै बाधा नगर्न पशुपति क्षेत्र विकास कोषका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।
उच्च अदालत पाटनले आइतबार अन्तरिम आदेश जारी नहुन्जेलसम्म २०७६ वैशाख ३० गतेको सम्झौता वमोजिम होटल आनन्दलाई काममा अवरोध नगर्न भनेको हो ।
‘अन्तरिम आदेशको टुङ्गो नलाग्दासम्म २०७६ वैशाख ३० को करार सम्झौता बमोजिम होटल आनन्द प्रा।लि।को सञ्चालनमा कुनै बाधा, अवरोध सृजना नगर्नू नगराउनू भनी विपक्षहरुको नाउँमा अल्पकालिन अन्तरिम आदेश समेत जारी गरिदिएको छ,’ उच्च अदालत पाटनले जारी गरेको अल्पकालिन आदेशमा भनिएको छ ।
बतास समूहले पशुपतिको धर्मशालामा करार सम्झौता अनुसार होटल सञ्चालन गर्दै आएको थियो । बतासले सम्झौता विपरित होटल सञ्चालन गरेको भन्दै केही दिनअघि पशुपति क्षेत्र विकास कोषले सम्झौता रद्द गरेको थियो । त्यसपछि बतास समूह उच्च अदालत पाटन पुगेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आदेशमा पशुपति विकास कोषले उक्त धर्मशालाको सञ्चालन जिम्मा पाएको होटल आनन्द प्रालिसँगको सम्झौता रद्द गरेको थियो । मन्त्री प्रेम आलेले पुशपति क्षेत्रमा संचालन भएको धर्मशालाको अनुगमन गरेपछि सम्झौता रद्द गर्न आदेश दिएका थिए ।
वतास समुहले धर्मशालाका नाममा स्टार होटल संचालन गरेर अतिथिसंग चर्को मुल्य असुलेको आरोप लागेको थियो । सम्झौता रद्द गर्ने निर्णयको विरोधमा दायर रिटमा उच्च अदालतका न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।



