अर्थ व्यापारसुदूरपश्चिम प्रदेशको बजेट ३६ अर्ब ७४ करोड ६४ लाख ७५ हजार

सुदूरपश्चिम प्रदेशको बजेट ३६ अर्ब ७४ करोड ६४ लाख ७५ हजार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ७५ हजार रुपैयाँ बजेट ल्याएको छ ।

प्रदेशसभाको बुधबारको बैंठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले प्रस्तुत गरेको बजेट अनुसार चालूतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार अर्थात् ३३ दशमलव ४६ प्रतिशत, पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार अर्थात ६५ दशमलव ७४ प्रतिशत, अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ १ अर्ब ३६ करोड ४९ लाख अर्थात् ३ दशमलव ७३ प्रतिशत, वित्तीय व्यवस्थातर्फ ३० करोड गरी कुल ३६ अर्ब ७४ करोड ६४ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष प्रदेश सरकारले बजेट बढाएर ल्याएको हो । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपियाँ बजेट विनियोजन गरेको थियो । प्रदेश सरकारले चालू आर्थिक वर्षकोभन्दा आगामी आर्थिक वर्षका लागि ६ अर्बभन्दा बढीले बजेट विनियोजन गरेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष बाढी पहिरोबाट प्रभावित क्षेत्रका लागि विशेष बजेट विनियोजन गरेको छ । त्यसका लागि १ अर्ब १२ करोड बजेट विनियोजन गरिएको छ । यस्तै, शिक्षातर्फ १ अर्ब २३ करोड ७३ लाख, खानेपानी संरचना निर्माणका लागि १ अर्ब ६७ करोड ९७ लाख, सडक पूर्वाधारका लागि ५ अर्ब ६० करोड ११ लाख, कृषि तथा सहकारी क्षेत्रका लागि ३ अर्ब १० करोड, सुदूरपश्चिम प्रदेशमा खेलकुद संरचना निर्माण गर्न ११ करोड, सुदूरपश्चिमको खेल क्षेत्रका लागि १६ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यस्तै, स्वास्थ्य क्षेत्रका लागि १ अर्ब ६ करोड २६ लाख, राष्टिय खेलकुदको तयारी र खेलाडी छनोटका लागि ९० लाख, सुदूरपश्चिमको पर्यटकीय क्षेत्रलगायत अन्य धार्मिक क्षेत्रका लागि ३ करोड, सुदूरपश्चिमको पत्रकारिता विकासका लागि १ करोड २० लाख बजेट विनियोजन गरिएको छ ।

सुदूरपश्चिम सरकारले विदेशबाट कृषि कर्म सिकेकालाई प्रदेशमा आफ्नो फर्म सञ्चालन गर्न पनि बजेट विनियोजन भएको छ । वैदेशिक रोजगारीबाट कृषि तथा कृषिजन्य सीप सिकेकालाई प्रदेशमा आफ्नो फर्म सञ्चालन गर्न ५ करोड विनियोजन गरिएको अर्थमन्त्री रावलले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश सरकारले रासायनिक मल खरिद गर्न १ करोड बजेट विनियोजन गरेको छ । प्रदेशको पानी प्रदेशको लगानी, प्रदेशका गाउँ उज्यालो बनाउन, एक घर एक धारा, कैलाली र कञ्चनपुरमा पर्ने चुरेभावर क्षेत्रमा खानेपानीको समस्या समाधान गर्न विशेष बजेट विनियोजन गरिएको छ । विपन्न, राजी, सोनाहा मुक्तकमैया, हलियाका लागि सुरक्षित आवास निर्माण गर्न १९ करोड बजेट विनियोज भएको छ ।

आगामी आर्थिक बर्षमा प्रदेशभर २२ पुल निर्माणका लागि पनि बजेट विनियोजन गरिएको छ । यस्तै, प्रदेश गौरवका सडक निर्माण कार्यलाई तीव्रता दिइने मन्त्री रावले बताए । मन्त्री रावलका अनुसार कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य बजेटको मुख्य प्राथमिकतामा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img