इटहरी- सुनसरी जिल्लाको गढी गाउँपालिका-३ मा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार सुनसरीको बर्जु गाउँपालिका-६ का ५२ वर्षीय मोहनलाल माझी रहेका छन् । घाइते भएका मोटरसाइकल चालक ५४ वर्षीय शिव नारायण चौधरीको पार्वती मेमोरीयल अस्पताल छिटहामा उपचार भइरहेको छ ।
आज बिहान सवा ८ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १ ०२ ००३ त १७५२ नम्बरको ट्रयाक्टरले को ३ प २५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुबै सवारी साधन सहित ट्रयाक्टर चालकलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी, झापा जिल्लाको झापा गाउँपालिका- ३ मा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ११ प २८२२ नम्बरको मोटरसाइकललाई हिजो बुधबार दिउँसो १ बजेर ५० मिनेटमा सोही दिशाबाट आउँदै गरेको मे १ त ४४१८ नम्बरको ट्याक्टरले पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर मोटरसाइकल चालक झापा–३ का २० वर्षीय अक्तर अलीको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।



