फिचर‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ भनेर देउवाले हप्काएका सागर डडेलधुराबाट देउवासँगै चुनाव लड्ने...

‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ भनेर देउवाले हप्काएका सागर डडेलधुराबाट देउवासँगै चुनाव लड्ने !

काठमाडौं । करिव पाँच वर्षअघि बीबीसीकाे कार्यक्रम ‘साझा सवाल’ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई खरो प्रश्न सोधेर चर्चित भएका युवा देउवासँगै चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन् ।

धेरैलाई याद अझै छ हाेला उनको त्याे प्रश्न, ‘लि क्वानलाई सिंगापुर दिँदा खेरी ढुँगा दिइएको थियो, उनले हीरा बनाए । तर, नेपाललाई तपाईंलाई दिँदा हीरा दिइएको थियो, तपाईंले ढुंगा बनाउनुभयो । यसको कारबाही कसलाई गर्ने ?’

खराे शैलीमा प्रश्न सोधिरहेका उनले थप प्रश्न गरे, ‘सिंगांपुर, चीन, अमेरिका, बेलायतलगायतका देशमा अति उत्कृष्ट विद्यार्थीहरुमात्र प्रधानमन्त्री भएका छन् । उदाहरणका लागि बेलायतका सम्पूर्ण प्रधानमन्त्रीहरु अक्स्फोर्ड विश्वविद्यालयका छन् । नेपालको विगत ७० वर्षदेखि हामीले हाम्रो मन बुझ्ने प्रधानमन्त्री कुन चाहिं पायौं ?’

जवाफमा देउवाले ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ, यहाँ कहाँबाट अक्सफोर्ड पढेको मान्छे ल्याउने ?’ भन्दै हप्काएका थिए । देउवाले हप्काउँदै भनेका थिए, ‘मलाई जनताले चुन्या हैन ? म प्रधानमन्त्री नभए को बन्ने, तपाईं बन्ने ?’

एउटा सामन्य युवाको प्रश्न गर्ने शैली र उत्तर दिने ठाउँमा रहेका देशका कार्यकारी प्रमुखको आक्रोशित शैलीले ती युवालाई देशको नेतृत्वबाट ‘फ्रस्टेड’ युवा वर्गमा एकाएक चर्चित बनायो । ती युवा थिए सागर ढकाल । साझा सवाल ‘बोय’को इमेज बनाएका ती नै सागर ढकालले हाल आसन्न प्रतिनिधिसभा चुनावमा शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुराबाट चुनाव लड्ने घोषणा गरेका छन् ।

मूलधारका पार्टीको नेतृत्वमा रहेका नेताहरुलाई हजुरबुबा र दोस्रो पुस्ताका नेता भनिएकाहरुलाई बुबा पुस्ताको संज्ञा दिँदै आएका ढकालले हजुरबुवा पुस्तालाई पूर्ण आराम, बुवा पुस्तालाई सल्लाहकार र ४० वर्षमुनिका प्रधानमन्त्री भन्ने अवधारणालाई अंगीकार गर्दै चुनावमा होमिने घोषणा गरेका हुन् ।

नेपालमा पढेलेखेका नेताहरु किन छैनन् भन्ने प्रश्न गर्दै आएका ढकालले पुल्चोक इन्जिनियरिङ कलेजबाट स्नातक र विश्व प्रख्यात अक्स्फोर्ड विश्वविद्यालयबाट मास्टर्सको अध्ययन गरेका छन् । उनले नेपालकै ऊर्जा तथा जलस्रोत मन्त्रालयदेखि चीन, जोर्डन, इजरायल, प्यालेस्टाइनलगायतका देशमा समेत काम गरिसकेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ,
“आउने चुनावमा अलि फरक तरिकाले प्रस्तुत हुने योजना बनाएका छौं,” उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, “मैले हालका प्रधानमन्त्री शेरबहादुर देउवाको डडेलधुराको क्षेत्रबाट चुनाव उठी उहाँलई ससम्मान पूर्णरुपमा वृद्धभत्तासहित आराम दिने निर्णय गरेको छु ।

म संसद्मा त जान्छु नै तर १६५ निर्वाचन क्षेत्रमा मजस्ता युवाहरुले पनि मेरो प्रधानमन्त्री बन्ने नेपाली जनतामाझ प्रस्तुत गरेको आवेदन स्वीकारेमा म विश्वको नै कान्छो प्रधानमन्त्री भएर नेपाललाई मात्र होइन विश्वका युवाहरुलाई नै एउटा आशा दिन सक्छु ।हाम्रो तर्फबाट नीतिगत तयारी सकिएको छ । बाँकी १६५ निर्वाचन क्षेत्रबाट उठ्ने युवा उमेदवारहरुलाई सुम्पिन चाहन्छौँ । निकै गाह्रो छ तर हजुरहरु सबैको साथ भएमा असम्भव भने छैन ।”

उनले २५० वर्षे राजतन्त्र फालेर दलतन्त्र अब ६०–७० वर्षे दलतन्त्र फालेर जनतन्त्र भन्ने नारा दिएका छन् । उनले ४० मुनिका युवाहरुलाई देशभरबाट जिताउनुपर्ने र प्रधानमन्त्री पनि ४० वर्षमुनिकै हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img