काठमाण्डाै – आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक प्रणालीतर्फको निर्वाचनका लागि नेपाल प्रहरीलाई सात अर्ब ९९ करोड ४९ लाख दुई सय रुपैयाँ बजेट प्राप्त भएको छ ।
नेपाल प्रहरीका लागि एक अर्ब २३ करोड ५० लाख ९९ हजार दुई सय तथा म्यादी प्रहरीका लागि पाँच अर्ब ८६ करोड ३९ लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको हो । याे बजेट अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएको प्रहरी प्रधान कार्यालयकाे प्रबन्ध निर्देशनालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक थापाले जानकारी दिए ।
आउँदाे चुनावका लागि ७१ हजार ६ सय ९३ प्रहरी कर्मचारी र एक लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिने भएको छ । यस पटक पालिका चुनावमा भन्दा २५ हजार बढी नेपाल प्रहरी तथा म्यादी प्रहरी थप गरिने भएको हो । जसमा १५ हजार म्यादी प्रहरी थपिने छन् ।
चुनावकाे समयमा प्रहरी कर्मचारीतर्फ जिल्लाभित्र खटिने प्रहरीले सात दिनका लागि र बाहिर जिल्लामा खटिने प्रहरीले १३ दिनका लागि दैनिक भ्रमण भत्ता पाउनेछन् । याे भत्ता सिपाहीका हकमा प्रतिव्यक्ति प्रतिदिन एक हजार दुई सय रुपैयाँ हुनेछ । अन्य तहअनुसार भत्ता उपलब्ध हुने जनाइएको छ । उनीहरूले चुनावकाे मुख्य चार दिन प्रतिदिन तीन सय रुपैयाँका दरले खाजा खर्च पनि प्राप्त गर्नेछन् ।
नेपाल प्रहरीले चुनाव प्रयोजनार्थ एक सय ८० वटा गाडी किन्ने भएको छ । प्रहरीले चुनावका लागि कुल एक हजार चार सय ९४ वटा गाडी माग गरेको थियो । अर्थ मत्रालयबाट गाडी खरिदका लागि ७५ करोड रुपैयाँ बजेट स्वीकृत भएसँगै प्रहरीले गाडी खरिदको तयारी थालेको छ । प्रहरीले बढीमा ५० लाख रुपैयाँसम्मका गाडी खरिद गर्न पाउनेछ । त्यही आधारमा एक सय ८० वटा गाडी खरिद गर्न लागिएको डीआईजी थापाले जानकारी दिनुभयो ।
चुनावमा कुल दुई हजार सात सय ९५ वटा गाडी परिचालन गर्ने योजना प्रहरी प्रधान कार्यालयको छ । चुनावकाे १२ दिनका लागि एक हजार ५० वटा गाडी भाडामा लिन स्वीकृत प्राप्त भएको छ । भाडाका लागि प्रतिदिन १० हजार रुपैयाँ छुट्याइएको छ । बाँकी अपुग गाडी मर्मत गरेर चलाइनेछ । सबै गाडी चुनाव सुरक्षा योजनाअनुसार परिचालन हुने भएकाले थप–घट हुनसक्ने थापाले जानकारी दिनुभयो । यसपालि प्रहरीले १० हजार लट्ठी खरिद गर्दैछ । प्रतिलट्ठी दुई सय रुपैयाँका दरले खरिद गर्ने जनाइएको छ ।
प्रहरीले सात सय बढी सञ्चार सेट तथा आवश्यक हातहतियारको माग गरे पनि उपलब्ध नहुने भएपछि हतियार बहालगिरीमा प्रयोग गर्ने भएको छ । अहिले चालु रहेका सेटसहित अपुग भएमा मोबाइलबाटै सञ्चार सेटको काम गरिने छ ।



