सुनसरी / धरान उपमहानगरपालिका- १३ को निशाने खोलामा वृक्षारोपण गरिएको छ ।
हिजो शनिबार धरान- १३ स्थित सुनाखरी एकेडेमीका विद्यार्थीले स्कुल र कलेजमा पढ्ने कक्षा- ८ देखि १२ सम्मका विद्यार्थी त्यहाँ पुगेर वृक्षारोपण गरेका थिए । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले चलाएको श्रमदान अभियानमा समेत सहभागी भएका थिए ।
त्यहाँ विद्यार्थी, शिक्षकले गिटी कुटेर सघाएका थिए । विभिन्न जातका विरुवा रोपेर विद्यार्थीहरू घर फर्किए । कार्यक्रममा विद्यार्थी, शिक्षक, शिक्षिकाको समेत उपस्थिति थियो । विद्यार्थीलाई पढाइका साथै व्यवहारिक ज्ञान दिनुपर्छ भन्ने कुरा विद्यालयले बुझेको र सोहीअनुसार कार्यक्रम राखिएको प्लस टु कोअर्डिनेटर टपकुमार राईले जानकारी दिए ।
मेयर साम्पाङको अभियानलाई सहयोग गर्न र थप ज्ञान बटुल्न आफूहरु यहाँ आउँदा खुशी लागेको विद्यार्थीहरूले बताए । श्रमदानमा बोल्दै मेयर साम्पाङले श्रम अभियानमा बुझेर विद्यार्थी आएको भन्दै धन्यवाद ज्ञापन गरे ।
विद्यार्थीले यहाँ आएर कक्षा लिन पुगेको उनले बताए । उनले कक्षा–८ देखि १२ सम्मका विद्यार्थीलाई लागूऔषधबारे कक्षा लिन आग्रह गरे । मेयर साम्पाङले धरानबासीलाई पानी खुवाउनका लागि आफू मरिहत्ते गरेको र जनतालाई श्रमदानमा गुहारेको बताए ।



