समाज२४सै घन्टा खुला रहनुपर्ने प्रसूति सेवा ठप्प, नर्सिङका स्वास्थ्यकर्मीसमेत चुनावमा खटिईए

२४सै घन्टा खुला रहनुपर्ने प्रसूति सेवा ठप्प, नर्सिङका स्वास्थ्यकर्मीसमेत चुनावमा खटिईए

जिल्ला अस्पताल हुम्लाका स्वास्थ्यकर्मी चुनावमा खटिँदा स्वास्थ्य सेवा नै प्रभावित बनेको छ । अस्पताल नै खाली हुने गरी जिल्ला स्वास्थ्यसँगको समन्वयविनै कर्मचारी खटाइँदा एक्सरे सेवा ३० कात्तिकदेखि बन्द छ भने आकस्मिक सेवा, ल्याब, फार्मेसी, परिवार नियोजन सेवा पनि प्रभावित बनेका छन् ।

सातजना नर्सिङ स्टाफ रहेकामा दुईजना मात्र आकस्मिक सेवामा काम गरिरहेका छन्, बाँकी सबैलाई निर्वाचनमा खटाइएको छ । ल्याबका ६ जना निर्वाचनमा खटिँदा एकजनाले मात्र धानिरहेका छन् । अस्पतालमा ६ जना चिकित्सक रहे पनि डा. रोशन रावत निर्वाचन अधिकृत भएर खटिएका छन् ।

जिल्ला स्वास्थ्य भन्छ– समन्वयविना खटाइयो, सेवाग्राहीमा परेको असरको जिम्मेवारी लिँदैनौँ
जिल्ला स्वास्थ्य कार्यालय हुम्लाले समन्वयविना नै स्वास्थ्यका कर्मचारी चुनावमा खटाइएकाले अस्पतालको सेवा प्रभावित भएको बताएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले स्वास्थ्य कार्यालयलाई जानकारी नदिई आफूखुसी कर्मचारी निर्वाचनमा खटाएकाले सेवाग्राहीमा पर्न गएको असरको जिम्मेवारी नलिइने बताए ।

जिल्ला स्वास्थ्यका निमित्त कार्यालय प्रमुख मनकृष्ण जैसीले अस्पतालमा कम्तीमा ६० प्रतिशत कर्मचारी कायम राखेर चुनावमा खटनपटन हुनुपर्नेमा आफूखुसी गरिएको बताए ।

२४सै घन्टा खुला रहनुपर्ने प्रसूति सेवाका नर्सिङ स्वास्थ्यकर्मीलाई पनि निर्वाचनमा खटाइएको छ । जुम्लाका आठ पालिकाका स्वास्थ्य संयोजक, उपसंयोजक, स्वास्थ्य चौकीका अहेव, अनमि र प्रसूतिगृहका नर्सिङ स्टाफ चुनावमा खटिएका हुन् । गुठीचौर गाउँपालिकाको देपालगाउँ, मनिसाँघु र झारज्वाला (धवलमुडी)मा रहेका स्वास्थ्य चौकीका प्रसूति सेवाका नर्सिङ स्टाफ चुनावमा खटिएका छन् । गुठीचौर गाउँपालिका स्वास्थ्य शाखा संयोजक बालराम नेपाली स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रका स्वास्थ्यकर्मी नै चुनावमा खटाइँदा सेवा ठप्प बनेको बताए ।

हिमा गाउँपालिकाका स्वास्थ्य संस्थानमा ३३ स्वास्थ्यकर्मी छन् । तीमध्ये २८ जना चुनावमा खटिएका छन् । केही करार स्वास्थ्यकर्मी र सहयोगीको भरमा स्वास्थ्य संस्था चलिरहेका छन् । यहाँ प्राथमिक स्वास्थ्य चौकीसँगै बड्की र महावैपाथर खोलामा प्रसूति सेवा छ । स्वास्थ्य संयोजक रतन रावत भने सेवामा समस्या नहुने गरी स्वास्थ्यकर्मी निर्वाचनमा खटाइएको दाबी गर्छन् । तातोपानी गाउँपालिकाका धेरैजसो स्वास्थ्यकर्मी निर्वाचनमा खटिएको स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंले बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img