जिल्ला अस्पताल हुम्लाका स्वास्थ्यकर्मी चुनावमा खटिँदा स्वास्थ्य सेवा नै प्रभावित बनेको छ । अस्पताल नै खाली हुने गरी जिल्ला स्वास्थ्यसँगको समन्वयविनै कर्मचारी खटाइँदा एक्सरे सेवा ३० कात्तिकदेखि बन्द छ भने आकस्मिक सेवा, ल्याब, फार्मेसी, परिवार नियोजन सेवा पनि प्रभावित बनेका छन् ।
सातजना नर्सिङ स्टाफ रहेकामा दुईजना मात्र आकस्मिक सेवामा काम गरिरहेका छन्, बाँकी सबैलाई निर्वाचनमा खटाइएको छ । ल्याबका ६ जना निर्वाचनमा खटिँदा एकजनाले मात्र धानिरहेका छन् । अस्पतालमा ६ जना चिकित्सक रहे पनि डा. रोशन रावत निर्वाचन अधिकृत भएर खटिएका छन् ।
जिल्ला स्वास्थ्य भन्छ– समन्वयविना खटाइयो, सेवाग्राहीमा परेको असरको जिम्मेवारी लिँदैनौँ
जिल्ला स्वास्थ्य कार्यालय हुम्लाले समन्वयविना नै स्वास्थ्यका कर्मचारी चुनावमा खटाइएकाले अस्पतालको सेवा प्रभावित भएको बताएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले स्वास्थ्य कार्यालयलाई जानकारी नदिई आफूखुसी कर्मचारी निर्वाचनमा खटाएकाले सेवाग्राहीमा पर्न गएको असरको जिम्मेवारी नलिइने बताए ।

जिल्ला स्वास्थ्यका निमित्त कार्यालय प्रमुख मनकृष्ण जैसीले अस्पतालमा कम्तीमा ६० प्रतिशत कर्मचारी कायम राखेर चुनावमा खटनपटन हुनुपर्नेमा आफूखुसी गरिएको बताए ।
२४सै घन्टा खुला रहनुपर्ने प्रसूति सेवाका नर्सिङ स्वास्थ्यकर्मीलाई पनि निर्वाचनमा खटाइएको छ । जुम्लाका आठ पालिकाका स्वास्थ्य संयोजक, उपसंयोजक, स्वास्थ्य चौकीका अहेव, अनमि र प्रसूतिगृहका नर्सिङ स्टाफ चुनावमा खटिएका हुन् । गुठीचौर गाउँपालिकाको देपालगाउँ, मनिसाँघु र झारज्वाला (धवलमुडी)मा रहेका स्वास्थ्य चौकीका प्रसूति सेवाका नर्सिङ स्टाफ चुनावमा खटिएका छन् । गुठीचौर गाउँपालिका स्वास्थ्य शाखा संयोजक बालराम नेपाली स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रका स्वास्थ्यकर्मी नै चुनावमा खटाइँदा सेवा ठप्प बनेको बताए ।
हिमा गाउँपालिकाका स्वास्थ्य संस्थानमा ३३ स्वास्थ्यकर्मी छन् । तीमध्ये २८ जना चुनावमा खटिएका छन् । केही करार स्वास्थ्यकर्मी र सहयोगीको भरमा स्वास्थ्य संस्था चलिरहेका छन् । यहाँ प्राथमिक स्वास्थ्य चौकीसँगै बड्की र महावैपाथर खोलामा प्रसूति सेवा छ । स्वास्थ्य संयोजक रतन रावत भने सेवामा समस्या नहुने गरी स्वास्थ्यकर्मी निर्वाचनमा खटाइएको दाबी गर्छन् । तातोपानी गाउँपालिकाका धेरैजसो स्वास्थ्यकर्मी निर्वाचनमा खटिएको स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंले बताए ।



