“संस्कृति संरक्षण र प्रतिभाको खोजीमा निरन्तरको प्रयास, परिष्कृत संस्कार अनि उन्नत क्षमताको खातिर अविराम अभ्यास” भन्ने मुल उद्घोषका साथ बागलुङ जिल्लाको काठेखोला गाउँपालिका २ भीमापोखरामा स्थापित श्री सिमसिम युवा क्लबले यस वर्ष पनि विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरुको साथमा ऎतिहासिक माघेसंक्रान्ति मेला-२०७९ भव्यताका साथ सञ्चालन गर्ने भएको छ ।
बागलुङ जिल्लाकै इतिहासमा धेरै लामो समयदेखी मेला आयोजना गर्दै आएको उक्त क्लबले यस वर्ष पनि नगद रु. ४०,०००/- पुरस्कार राशिको खुल्ला साविक वडास्तरिय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको छ भने लगभग जिल्लास्तरकै शैलीमा नगद रु. ३०,०००/- पुरस्कार राशीको खुला सामुहिक नृत्य प्रतियोगिताको पनि आयोजना गरेको छ ।
खुल्ला साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने प्रतियोगिहरुले क्रमशः रु.४०,०००, ३०,००० र १०,००० नगद पुरस्कारसंगै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने खुल्ला सामुहिक नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने सहभागीहरुले क्रमशः रु. ३०,०००, २०,००० र १०,००० नगद पुरस्कारसंगै प्रमाणपत्र प्राप्त गर्नेछन् ।
संस्कृतिहरुको संरक्षण गर्दै स्थानीयस्तरमा गुमनाम रहेका होनहार प्रतिभाहरुलाई पहिचान गर्नु नै उक्त ऎतिहासिक माघेसंक्रान्ति मेलाको मुख्य उद्देश्य रहेको क्लबका अध्यक्ष राजेन्द्र थापाले बताए ।
उनले प्रतिभा र क्षमता विकासको तयारीमा रहेका र आफैंले आफुलाई चिन्न नसकेका नवीन प्रतिभाहरुलाई प्रस्फुटन गर्नुका साथै स्थापित व्यक्तित्व तथा नमूनाहरुको अनुकरण गर्नु पनि रहेको बताए ।
उक्त क्लबले मेलामा वर्ष खेलाडी-२०७९ समेत घोषणा गरि पुरष्कृत गर्नेछ । यसका साथसाथै मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रतुतीलाई पनि जोड्नेछ ।



