सुर्खेत शहीद पार्कमा बनेको मूर्तिलाई लिएर विभिन्न कोणबाट टिप्पणी भइरहेका छन् । कतिपयले यी मूर्ति बनाउन १३ लाख रुपैयाँ खर्च भएको दाबी गरेका छन् ।
भैरव सामुदायिक वन क्षेत्रमा रहेको सुर्खेतको पर्यटकीय स्थल सहिद पार्कमा राख्नका लागि पार्क व्यवस्थापन समितिले पाटेबाघको प्रतिमा बनाएको थियो। केही समय पहिले बनाएको एउटा प्रतिमा टुक्रिन थालेपछि समितिले अर्को प्रतिमा बनाएको हो।
निकुञ्जको व्यवस्थापन भैरव सामुदायिक वनले लिएको छ । भैरव सामुदायिक वनका अध्यक्ष एवं वीरेन्द्रनगर–४ का वडा सदस्य अमरबहादुर कार्कीका अनुसार हाल भाइरल बनेको मूर्ति बनाउन ५० हजार रुपैयाँ खर्च भएको थियो ।
‘पहिले बनाइएको प्रतिमा ढुंगाका पिस जोडेर बनाइएको रहेछ, त्यो गुणस्तरीय नभएपछि हामीले ४५ हजार लागत अनुमान गरेकोमा बनाउने मान्छेलाई २८ हजार मात्र भुक्तानी गरेका थियौं,’ अध्यक्ष कार्कीले भने, ‘पछि बनाइएको उक्त प्रतिमाको खर्च ५० हजार हो, हामीले कालीगढलाई भुक्तानी त्यही गरेका हौं।’
सहिद पार्कको गेटमा राखिएको कन्याको प्रतिमा र पछिल्लो पटक बनाइएको पाटेबाघको प्रतिमाको गरी कूल एक लाख पाँच हजार रुपैयाँ खर्च भएको अध्यक्ष कार्कीले बताए।
‘हामीले एकैपटक यी दुइटा प्रतिमा बनाएका थियौं, यसको जम्मा खर्च १ लाख ५ हजार मात्र छ,’ उनले भने, ‘अहिले त्यो प्रतिमालाई बेकारमा भाइरल बनाइएको छ।’
उनका अनुसार उक्त पाटेबाघको प्रतिमा काँक्रेविहार क्षेत्रमा राखिएको शिवको मूर्ति बनाउन आएका चितवनका कालीगढले बनाएका हुन्। अहिले बनाइएका दुबै प्रतिमा एउटै ढुंगाबाट बनेको उनले बताए।
सहिद पार्कमा आउने पर्यटकबाट लिइने शुल्कबाट जम्मा भएको रकमले बाघका दुई वटा प्रतिमा समितिले बनाएको अध्यक्ष कार्कीले बताए। पार्कमा प्रवेशका लागि प्रतिव्यक्ति २० रुपैयाँ लिइन्छ।



