मकवानपुर: मकवानपुरमा ट्रक दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । शनिबार बिहान पौने २ बजे मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ नयाबस्ती डिपाट गाउँमा दुइ वटा ट्रक एक आपसमा ठोकिएर आगालागी हुदाँ ट्रकमा सवार तीन जनाको ट्रकसंगै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
पुर्ब पश्चिम सडक खण्डमा हेटौडा तर्फ बाट चितवन तर्फ जादै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ६ ख ६३१ नंम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुदा दुबै ट्रकमा आगलागी भएको हो । आगलागी दमकलको माध्यमबाट नियन्त्रणमा लिएपछी गाडी भित्र रहेका तीन जना पनि जलेर नष्ट भएको अवस्थामा स्थानीय र प्रहरीले भेटाएको थियो ।
ट्रकमा जलेका तीन जनाको पुरै सव जलेपछी साना टुक्राहरु मात्र फेला परेको छ । त्यो सवका टुक्राहरु हेटौंडा अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।
मृत्यु हुनेहरुमा ना ६ ख ६६६७ नम्बरको ट्रक चालक जिल्ला चितवन राप्ति नगरपालिका–८ बस्ने २८ वर्षिय रिहान रुम्बा तामाङ, सोही ट्रकको सहचालक गोरखा जिल्ला गण्डकी गाउँपालिका वडा नम्बर–२ गोर्दीटार बस्ने २१ वर्षिय सुमन चेपाङ र ना ६ ख ६३१ नम्बरको ट्रक सहचालक मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर–३ बस्ने २० वर्षिय अमृत प्रजा रहेका छन् ।

ट्रकमा सवार दुइजना गम्भिर घाइते भएका छन् । ट्रकमा सवार चितवन राप्ति नगरपालिका वडा नम्बर–३ बस्ने वर्षिय ३५ बिबेक तामाङ, ट्रक चालक मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर–३ बस्ने ३२ वर्षिय अर्जुन कुमार प्रजा गम्भिर घाइते भएका हुन् । उनीहरुको उपचारका लागि भरतपुर अस्पताल लगिएको मकवानपुर प्रहरीले जनाएको छ ।



