काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा इङ्गल्याण्डमा आयोजना हुने जलवायु सम्मेलनमा सहभागी हुन शुक्रबार बिहान प्रस्थान गरेका छन् । कतार एअरवेजको उडानबाट प्रधानमन्त्री देउवा २० सदस्यीय टोलीको नेतृत्व गर्दै लण्डनतर्फ लागेका हुन् ।
भ्रमण दलमा वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादव तथा विभिन्न मन्त्रालयका आधा दर्जन सचिवहरुसमेत रहेका छन् । टोलीमा वन तथा वातावरण मन्त्री यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन मन्त्रालयका सचिव पेमनारायण कँडेल, अर्थ मन्त्रालयका सचिव, मधुकुमार मरासिनी, ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्की, गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी सहभागी छन् ।
देउवा गत असार २९ गते पाँचौं पटक प्रधानमन्त्री भएपछि पहिलो पटक विदेश भ्रमणमा निस्किएका हुन् । उनले कार्तिक १५ गते स्कटल्याण्डको ग्लास्गो शहरमा हुने विश्व जलवायु कोप–२६ सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुनेछन् । उनले उक्त सम्मेलनलाई सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको छ ।



