देशबागमती प्रदेशभ्रष्टाचार बढ्नुमा मुख्य दोषी राजनीतिक नेतृत्व: मुख्यमन्त्री जम्कट्टेल

भ्रष्टाचार बढ्नुमा मुख्य दोषी राजनीतिक नेतृत्व: मुख्यमन्त्री जम्कट्टेल

हेटौँडा/ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भ्रष्टाचार बढ्नुमा मुख्य दोषी राजनीतिक नेतृत्व रहेको बताएका छन् ।

शनिवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बागमती प्रदेश हेटौंडा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाको संयुक्त आयोजनामा भएको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै राजनीतिक नेतृत्वले निष्पक्ष, पारदर्शी, स्वार्थरहित ढङ्गले काम गर्न नसक्दा भ्रष्टाचार मौलाउँदै गएको आरोप लगाएका छन् ।

उनले नेपालमा भ्रष्टाचार संस्कारको रुपमा विकसित हुँदै गएको जिकिर गर्दै राणाशासन, राजाहरुको शासन अहिलेसम्म आइपुग्दा त्यही परम्परा विकसित हुँदै गएको बताएका छन् ।  राजनीतिक नेतृत्व हिजोको संस्कारबाट मुक्त भएमात्रै त्यो देखेर जनता, कर्मचारीतन्त्र, सुरक्षा निकाय भ्रष्टाचार कम हुने विश्वास व्यक्त गरे । जहाँ जहाँ जसजस्ले भ्रष्टाचार गरेका छन, सरकारमा रहँदा, सरकारबाहिर हुँदा सबै राजनीतिक नेतृत्वलाई खबरदारी गर्नुपर्नेमा उनको जोड थियो।

कर्मचारीप्रति लक्षित गर्दै मुख्यमन्त्रीले नहुने कामलाई पनि कर्मचारीले हुन्न भन्न नसक्दा भ्रष्टाचार बढेको जिकिर गर्दै नहुने काम कुनै पनि राजनीतिक नेतृत्वको दबाबमा नगर्न उनले कर्मचारीलाई निर्देशन दिए । गलत काम हुँदा प्रदेश, मन्त्री सबै बदनाम हुने र जनतामा पनि निराशा बढ्ने भएकाले कर्मचारीलाई भ्रष्टाचार हुने काम नगर्न आग्रह गरे ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग अहिले तर्साउने हतियार भएको छ, कसैसँग रिस उठे पनि बेनामे मुद्दा हाल्ने प्रवृत्तिले आम जनताले दुःख पाइरहेको उनको भनाइ छ । जनताले दुख पाउँदा यस्ता व्यवहारले अहिले व्यवस्थामाथि प्रश्न उठिरहेको बताउँदै अख्तियार पनि निष्पक्ष भएर उजुरीहरुको सत्य, तथ्य छानबिन गरेर निवेदन लिनुपर्ने तर्क गरे ।

राज्यका कुनै पनि निकाय बदला लिने हतियार बन्न नहुने बताउँदै मुख्यमन्त्रीले अख्तियारको दुरुपयोग गरेर कसैलाई अन्याय, अत्याचार गर्न नहुने स्पष्ट पारे ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका प्रमुख नरहरि घिमिरेले कार्यालयको कार्यपत्र प्रस्तुत गरेका थिए । बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायको सभाध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुमन्त्री गङ्गानारायण श्रेष्ठ, प्रदेशका सचिव, कर्मचारी, नेपाली सेना, संचारकर्मीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img