हेटौँडा | मकवानपुर प्रहरीले पछिल्ला केही दिनमा भएका विभिन्न चोरी र लागूऔषध कारोबारका घटनाहरूमा संलग्न नौ जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा हेटौडा सिमेन्ट उद्योगबाट बिजुली तार चोरी गर्ने तीन जना, एक सय किलोभन्दा बढी लागूऔषध गाँजासहित एक जना, र अन्य विभिन्न चोरीका घटनामा संलग्न व्यक्तिहरू रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानाकारी दिए ।
हेटौडा सिमेन्ट उद्योगमा भएको चोरीको घटनाले यस क्षेत्रमा तरंग नै ल्याएको थियो । गत असोज २३ गते मध्यरातमा हेटौडा उपमहानगरपालिका वडा नं. ९ लामसुरे स्थित उद्योग परिसरबाट ठूलो परिमाणमा बिजुली तार चोरी भएको थियो। उद्योगको पश्चिम तर्फको रोप्वे देखि क्रसरसम्म जडान गरिएका ६ इन्च र ४ इन्चका तामाका तारहरू अज्ञात समूहले काटेर लगेको थियो।
प्रहरीले गहन अनुसन्धान गर्दा स्थानीय २२ वर्षीय मनिराम थोकरले घटनाभन्दा एक दिन अघि मात्र एक हार्डवेयर पसलबाट ह्याक्सो ब्लेड किनेको तथ्य फेला पार्यो। थप अनुसन्धानबाट २८ वर्षीय सन्त बहादुर तितुङ समेत पाँच-सात जनाको समूहले तार चोरी गरी भारत मोतिहारीका कवाडी व्यवसायी दिल खुश कुमार साहलाई बिक्री गरेको खुलेको छ। प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिई कानूनी कारबाही अघि बढाएको छ।
यसैबीच, नेवारपानी प्रहरीलाई अर्को ठूलो सफलता हात लागेको छ। कार्तिक ७ गते पूर्व-पश्चिम राजमार्गको रजैया जंगल नजिक रुटिन चेकजाँचका क्रममा प्रहरीले बागमती प्रदेश ०१-०२५ च ७८७१ नम्बरको योद्धा पिकअपबाट १०५ किलो ६९ ग्राम लागूऔषध गाँजा बरामद गरेको छ। गाडीभित्र तीन वटा बोरामा रातो प्लास्टिकले बेरिएका १० वटा पोकामा लुकाइएको गाँजासहित हेटौंडा-३ बसामाडीका २४ वर्षीय पन्चलाल थिङलाई पक्राउ गरिएको छ।
एउटै व्यक्ति संलग्न
हेटौंडामा लगातार भइरहेका चोरीका घटनाहरूमध्ये धेरैमा एउटै व्यक्ति संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। हेटौंडा-८ का २४ वर्षीय सुशान्त श्रेष्ठ कम्तीमा तीन वटा ठूला चोरीका घटनामा संलग्न रहेको पाइएको छ। कार्तिक ३ गते बिहान करिब ४ बजे कर्णावती मार्गमा रहेको शिव गौतमको निर्माणाधीन घरबाट बिजुली तार चोरी गर्ने क्रममा श्रेष्ठका साथै सुमन राई र समिर घिमिरे पनि संलग्न थिए। यसअघि असोज १६ गते राति हेटौडा फन भिल्लाबाट ६० हजार मूल्य बराबरको साउण्ड सिस्टम र २० हजार नगद चोरी गरेको र कार्तिक ३ गते शान्तिटोलबाट राजेश थापा क्षेत्रीको ना ३ प ४७३ नम्बरको यामाहा मोटरसाइकल चोरी गरेको अभियोगमा पनि श्रेष्ठ पक्राउ परेका छन्।
फास्ट ट्र्याकमा चोरी
सबैभन्दा पछिल्लो घटनामा, कार्तिक ८ गते बिहान मकवानपुरगढी प्रहरीले कान्तिलोकपथ सडकखण्डमा सवारी जाँचका क्रममा अर्को बिजुली तार चोरीको भण्डाफोर गरेको छ। प्रदेश २-०१-००३ प ६१०५ नं. को मोटरसाइकलमा ३७.२३ किलो सेतो धातुको बिजुली तार लैजाँदै गरेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा फास्ट ट्र्याकमा वेल्डिङको काम गर्ने कञ्चनपुर बेलडीका २४ वर्षीय राजेश्वर चौधरी र उनका मामा राहुल चौधरी रहेका छन्। उनीहरूले लेनडाँडाबाट उक्त तार चोरी गरेको स्वीकारेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सबै घटनाहरूमा थप अनुसन्धान जारी रहेको छ। विशेषगरी हेटौडा सिमेन्ट उद्योगको चोरी प्रकरणमा अझै केही व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी तीव्र पारिएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानाकारी दिए ।
प्रहरीले चोरी र लागूऔषध जस्ता आपराधिक गतिविधिमा कडा निगरानी राखिरहेको र यस्ता घटनामा संलग्न जोकोहीलाई कानूनी कारबाहीको दायरामा ल्याइने जनाएको छ। विशेष टोली परिचालन गरिएको छ।



