अर्थ व्यापार७७ कम्पनीले ल्याउँदै आईपीओ, सर्वसाधारणले १ लाख रुपैयाँ जुटाउनुपर्ने

७७ कम्पनीले ल्याउँदै आईपीओ, सर्वसाधारणले १ लाख रुपैयाँ जुटाउनुपर्ने

काठमाडौं | करिब ११ महिनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा सन्तोषनारायण श्रेष्ठको नियुक्तिसँगै लामो समयदेखि रोकिएका आईपीओ (साधारण शेयर) निष्काशन प्रक्रिया अघि बढ्ने भएको छ। ७७ कम्पनीले आईपीओ जारी गर्न तयारी गरिरहेका छन्।

यी कम्पनीहरूले करिब ४९ अर्ब रुपैयाँ बराबरको ३३ करोड ५६ लाख कित्ता शेयर निष्काशन गर्नेछन्। यी सबै शेयर भर्न एक व्यक्तिले करिब १ लाख रुपैयाँ लगानी गर्नुपर्नेछ।

सबैभन्दा धेरै हाइड्रोपावर समूहका ३७ कम्पनीले आईपीओ ल्याउन लागेका छन्। यस समूहका शेयर भर्न ३७ हजार रुपैयाँ आवश्यक पर्नेछ। त्यसपछि उत्पादन तथा प्रशोधन समूहका १५ कम्पनी छन्, जसका लागि ३२,५८६ रुपैयाँ जुटाउनुपर्ने हुन्छ।

केही कम्पनीले १०० रुपैयाँ प्रतिकित्ता दरमा आईपीओ ल्याउने भए पनि ९ कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्नेछन्। नेपाल ब्रडकास्टिङ च्यानलले ५० रुपैयाँ प्रतिकित्ता दरमा आईपीओ ल्याउन तयारी गरेको छ।

आईपीओ आवेदन दिन बैंक खाता र मर्चेन्ट बैंकमा डिम्याट खाता अनिवार्य छ। “मेरो शेयर” एपमार्फत अनलाइन आवेदन दिन सकिन्छ। नेपालमा हाल ३१ मर्चेन्ट बैंकले यो सेवा प्रदान गर्दै आएका छन्।

सेबोनका प्रवक्ता नवराज अधिकारीका अनुसार, कागजात पूरा गर्ने कम्पनीका आईपीओहरू एकैपटक पनि आउन सक्छन्। सबैभन्दा पहिले गार्जियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ सार्वजनिक हुनेछ।

हाइड्रोपावर, उत्पादन, पर्यटन, र माइक्रो इन्स्योरेन्स समूहका कम्पनीहरूले शेयर जारी गर्न लागेकाले यो सबैका लागि अवसर हो। साना लगानीकर्तादेखि ठूला लगानीकर्ता सबैका लागि विकल्प उपलब्ध छन्।

७७ कम्पनीको आईपीओ जारी भएपछि नेपालमा पुँजीबजारले नयाँ गतिमा अघि बढ्ने अपेक्षा गरिएको छ। लगानीकर्ताले आफ्नो आर्थिक योजना बनाउँदै समयमै तयारी गर्नु उपयुक्त हुनेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img