धर्म/संस्कृतिलदी पर्व सम्पन्न: माझी समुदायले पुर्ख्यौली परम्पराको संरक्षणमा जोड दिए

लदी पर्व सम्पन्न: माझी समुदायले पुर्ख्यौली परम्पराको संरक्षणमा जोड दिए

हेटौँडा | बकैया गाउँपालिका–६ जुईना स्थित माझी समुदायले यस वर्षको लदी पर्व परम्परागत रौनकका साथ मनाएका छन्। बागमती नदी किनारमा सामूहिक पूजा, परम्परागत गीत–संगीत, भोज तथा धार्मिक अनुष्ठानसहित पर्व सम्पन्न भएको हो।

माझी समुदायका अनुसार ‘लदी’ शब्दको अर्थ नै नदी हो। माझी भाषामा नदीलाई लदी भनिन्छ, त्यसैले यस पर्वलाई लदी पर्व नामकरण गरिएको हो। जुईनाका स्थानीय कृष्ण बहादुर माझी भन्छन्, “यो पर्व हामीले चार-पाँच वर्षदेखि मात्रै औपचारिक रूपमा मनाउन थालेका हौं। पहिले ठूलो तामझाम हुँदैनथ्यो, तर अहिले हामी यसलाई समुदायको पहिचानसँग जोडेर व्यापक रूपमा मनाइरहेका छौं।”

उनले भने, “लदी पर्वलाई दशैंको जस्तै महत्व दिइन्छ। हाम्रो समुदायको पहिलो देवता नै नदी हो। हामीले पुर्खादेखि नै यो पर्व मनाउँदै आएका छौं। कोही बलि दिन्छन्, कोही दूध चढाउँछन्, कोही परेवा चढाएर पूजा गर्छन्।”

बकैया गाउँपालिका क्षेत्रमा मात्रै ९ वटा गाउँमा माझी समुदायको बसोबास रहेको छ। स्थानीय कृष्ण बहादुर माझीका अनुसार, “पहिले यो पर्व सामान्य रूपमा मनाइन्थ्यो। अहिले भने समुदायले यसलाई मौलिक पर्वको रूपमा स्थापना गर्ने प्रयास गरिरहेको छ। बकैयाका ९ गाउँमा माझि समुदायको बसोबास गर्छन, याहा ५ हजार ७२० माझी समुदायका मानिसहरू छन् ।

माझी समुदाय परम्परागत रूपमा माछा मार्ने, डुंगा सञ्चालन गर्ने, नदीमा आधारित जीविकोपार्जन गर्ने समूह हो। तर, वर्तमान समयसम्म आइपुग्दा उनीहरूको पेशा संकटमा परेको छ। कृष्ण बहादुर माझी भन्छन्, “पहिले खोलाबाट माछा मारेर परिवार पालिन्थ्यो। अहिले अवस्था उल्टिएको छ। हामीले पोखरीको माछा किनेर खानुपरेको छ।”उनले खोलामा विष हालेर माछा मार्ने प्रवृत्तिले माझी समुदायको जीविकोपार्जन नै संकटमा परेको बताए। “पहिले हाम्रा पुख्र्यौली पेशा खोलासँग जोडिएका थिए। तर, अहिले विष प्रयोग गरेर माछा मार्ने कामले खोलामा माछा नै छैन।”

मुख्यमन्त्रीको उपस्थितिमा मनाइयो लदी पर्व

नेपाल माझी उत्थान संघको आयोजनामा मकवानपुरको बकैया गाउँपालिका-६, जुइनामा लदी पर्व भव्य रूपमा सम्पन्न भएको छ।  बिहानै बागमती नदी किनारमा सामूहिक पूजा गर्दै माझि समुदायले पर्व मनाईएका छन् । परम्परागत भेषभूषामा सजिएर माझी पुरुष, महिला र बालबालिकाहरूले नदीमा पुगेका थिए । “बिहान नदी पूजा गर्यौं, दिउँसो औपचारिक कार्यक्रम सम्पन्न गर्‍यौं,” नेपाल माझी उत्थान संघका केन्द्रीय अध्यक्ष चिनीमाया माझीले बताइन्।

कार्यक्रममा सभाध्यक्ष नेपाल माझी उत्थान संघकी केन्द्रीय अध्यक्ष चिनीमाया माझी थिइन्।  नेपाल माझी उत्थान संघकी केन्द्रीय अध्यक्ष चिनीमाया माझीको सभाध्यक्षतामा भएको कार्याक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो।

‘समुदायको प्रतिनिधित्व सुनिश्चित गर्दै, समावेशी विकासलाई प्राथमिकता’

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अथिति बदाहुर सिंह लामाले समावेशी विकास र समुदायको उत्थानलाई सरकारको प्राथमिकता रहेको बताएका छन्।  उनले सरकार सबै समुदायको हितका लागि काम गरिरहेको र सबै सम्भावित विकल्पहरू प्रयोग गरिरहेको स्पष्ट पारे।

“हाम्रो कार्यालयमा पनि तपाईंहरूको प्रतिनिधित्व सुरक्षित गरिएको छ। तपाईंहरूको आवाजलाई सुन्ने र आवश्यक निर्णयहरू लिन हामी निरन्तर प्रयासरत छौँ,” मुख्यमन्त्री लामाले भने।  उनले विविध संस्कृतिको संरक्षण, परम्परागत पहिचानको प्रवर्द्धन, तथा सामाजिक सद्भावलाई सरकारको साझा उद्देश्यका रूपमा प्रस्तुत गरे।

उनले समावेशी विकासको बाटो पहिल्याउने सरकारको प्रतिबद्धता दोहोर्‍याउँदै भने, “हामी सबै समुदायको उत्थानका लागि काम गरिरहेका छौँ। तपाईंहरूको साथ, समर्थन, र सुझावहरूले हामीलाई अझ प्रभावकारी निर्णय लिन मद्दत गर्नेछन्।”

त्यस्तै कार्याक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर, स्थानीय तहका जनप्रतिनिधिहरू तथा विभिन्न जिल्लाबाट आएका माझी समुदायका अगुवाहरू उपस्थित थिए।

माझी समुदायले बागमती नदीमा पुजाअर्चना गर्दै ।

लदी पर्वको अवसरमा माझी समुदायले बागमती नदीमा पुजाअर्चना गरी परम्परागत संस्कृतिअनुसार धार्मिक विधिहरू पूरा गरेका थिए। समुदायका ज्येष्ठ सदस्यहरूले नदी पुजा गर्दै खोला, डुंगा र माछापालनसँग जोडिएको आफ्नो पहिचान र संस्कृतिको महत्वलाई स्मरण गराएका थिए।

यस वर्ष पनि बागमती प्रदेश सरकारले माझी समुदायको चाड लदी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको थियो। कार्यक्रमका वक्ताहरूले माझी समुदायको भाषा, संस्कृति, पेशागत पहिचान र अधिकार संरक्षण गर्न नीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा सांस्कृतिक प्रस्तुति, परम्परागत नाचगान, पुराना संस्कृतिहरू झल्काउने प्रदर्शनी तथा माझी समुदायका अग्रजहरूको सम्मान कार्यक्रमसमेत समावेश गरिएको थियो। आयोजक नेपाल माझी उत्थान संघका अनुसार आगामी वर्षहरूमा अझ व्यवस्थित रूपमा लदी पर्व मनाउने योजना रहेको छ।

कार्यक्रममा विशिष्ट अतिथि आदिवासी जनजाति आयोगका अध्यक्ष अरामबहादुर थापा मगरले आदिवासी जनजातिको भाषा, संस्कृति, परम्परा र धार्मिक विधिहरूको संरक्षणका लागि राज्यले विभिन्न कार्यक्रमहरू संचालन गरिरहेको बताए। उनले माझी समुदायलाई सरकारी नीति तथा योजना तहमा समावेश गर्न तथा आर्थिक सहायता उपलब्ध गराउन आयोगले सरकारलाई सिफारिस गरिरहेको स्पष्ट पारे।

‘भाषा लोप हुने अवस्थामा पुग्यो’

माझी समुदायको मौलिक भाषा लोप हुने अवस्थामा पुगेको छ। केन्द्रीय अध्यक्ष चिनीमाया माझी भन्छिन्, “हामीले समुदायका नयाँ पुस्तालाई आफ्नो भाषा सिकाउने प्रयास गरिरहेका छौं। पाठ्यक्रम नै विकास गर्ने सोचमा छौं। लदी पर्वजस्तै हाम्रो भाषा पनि सुरक्षित राख्न आवश्यक छ। अहिले हाम्रो भाषा लोप हुने अवस्थामा पुगेको छ । “

लदी पर्व माझी समुदायको मात्र नभई नेपालकै सांस्कृतिक विविधताको एउटा प्रतीक भएको उनले बताइन्। यस पर्वलाई संरक्षण गर्न सरकारी र स्थानीय तहले थप नीति र कार्यक्रमहरू ल्याउनु आवश्यक देखिन्छ। अध्यक्ष चिनीमाया माझीले थपिन, “सिर्फ पर्व मनाएर मात्र पुग्दैन, हाम्रो संस्कृतिको जगेर्ना गर्न दीर्घकालीन योजना बनाउनुपर्छ।”

२०७८ सालको जनगणना अनुसार नेपालमा १ लाख ११ हजार ३५२ माझी समुदायका मानिसहरू छन्। बागमती प्रदेशमा मात्रै ४१ हजार ६७१ माझीहरू छन्, जसमा मकवानपुरमा ११ हजार ५३८ छन्। यो प्रदेश माझीहरूको सबैभन्दा धेरै बसोबास भएको क्षेत्र हो। सरकार तथा सम्बन्धित निकायहरूले माझी समुदायको संस्कृति संरक्षणका लागि प्रभावकारी नीति ल्याउने हो भने मात्र भविष्यमा लदी पर्व अझ भव्य रूपमा मनाउन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img