देशबागमती प्रदेशसामरी खोलामा मापदण्ड विपरित उत्खनन्, अनुगमन त् भयो!

सामरी खोलामा मापदण्ड विपरित उत्खनन्, अनुगमन त् भयो!

हेटौँडा | मकवानपुरगढी गाउँपालिका–७ स्थित सामरी खोलामा मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन् गरिएको पाइएको छ। अनुगमनका लागि पुगेको जिल्ला समन्वय समितिको टोलीले गम्भीर अनियमितता देखेपनि कम्पनीलाई कारवाहीबिना फर्किएको छ।

जिल्ला समन्वय समिति प्रमुख ललितबहादुर घलानको नेतृत्वमा गएको टोलीले ‘ढुंगा, गिट्टी तथा बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन मापदण्ड, २०७७’ अनुसार काम नभएको निष्कर्ष निकालेको हो।

समन्वय अधिकारी शान्ति विकका अनुसार खोलामा तीनपटक अनुगमन गर्दा पनि कम्पनीले त्रुटि सच्याएको छैन। कम्पनीले अनिवार्य सूचना बोर्ड राख्ने मापदण्डसमेत बेवास्ता गरेको पाइएको छ। स्थानीय तहले तोकेको लाइन लेन्थ हटाएर फरक स्थानमा उत्खनन् गरिएको पाइएको उनले बताइन्।

समिति प्रमुख घलानका अनुसार, निर्माण कम्पनीले वातावरणीय मूल्यांकन विना संवेदनशील क्षेत्र र पक्की पुल मुनी समेत उत्खनन् गरेको छ। “मानव बस्तीको २ किलोमिटर, पुल तल १ किलोमिटर तथा ५०० मिटर माथिबाट उत्खनन् गर्न रोक लगाइएको छ,” घलानले भने, “तर कम्पनीले दोहोर्‍याएर मापदण्ड तोडेको छ।”

निर्माण कम्पनीले खोलामा ठूला गहिरा खाल्डो बनाउने गरी उत्खनन् गरेको, अनुमतिविना नदीजन्य पदार्थ सँगालिएको र घाटमा थुपारेको पाइएको छ। यस्ता गतिविधिका बावजुद, अनुगमन टोलीले कुनै ठोस कारवाही गरेको छैन।

घलानले अहिले उत्खनन क्षेत्रको नापजाँच गर्न निर्देशन दिँदै प्रतिवेदनको आधारमा मात्र प्रक्रिया अघि बढाउने बताए। साथै गाउँपालिकालाई कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदन लामिछानेका अनुसार, २०८१ मंसिर २३ मा सगरमाथा अमित जेभी नामक कम्पनीसँग ४ करोड ५ लाख रुपैयाँमा १ लाख २९ हजार घनमिटर उत्खनन् गर्न ठेक्का सम्झौता गरिएको हो। हालसम्म कम्पनीले १ लाख १६ हजार घनमिटर उत्खनन् गरी नापजाँच गरिसकेको र १३ हजार घनमिटर उत्खनन् गर्न बाँकी रहेको उनले बताए। ठेक्का म्याद २०८० चैत मसान्तसम्म तोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img