हेटौँडा | बागमती प्रदेशका १० जिल्लाका मुख्य सडक र चोकमा अबदेखि सिसिटिभी क्यामेराबाट निगरानी थालिएको छ।
सार्वजनिक सुरक्षा बलियो बनाउने र अपराध नियन्त्रणमा प्रविधिको प्रयोग बढाउने उद्देश्यसहित प्रदेश सरकारले मंगलबारदेखि ६४ स्थानमा १ सय २० वटा सिसिटिभी क्यामेरा सञ्चालनमा ल्याएको हो।
हेटौँडामा आयोजित कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले निगरानी प्रणालीको औपचारिक उद्घाटन गरे। कार्यक्रममा मन्त्री लामिछानेले यस्तो प्रणालीले ‘जनताको सुरक्षामा थप विश्वास’ दिलाउने बताए ।
प्रदेश प्रहरीका अनुसार नारायणगढ (चितवन), भिमान (सिन्धुली) र रातोमाटे (मकवानपुर) जस्ता ‘हाई–रिस्क’ क्षेत्रमा अत्याधुनिक बिएलएच क्यामेरा र रडार प्रणाली समेत जडान गरिएको छ। क्यामेरा सञ्चालन र निगरानीका लागि ३८ प्रहरी युनिट खटिएका छन्।
प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) संजय सिंह थापाले निगरानी प्रणालीले अपराध नियन्त्रण र ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सहयोग गर्ने विश्वास व्यक्त गरे। “कम्तीमा ९० दिनसम्मको डेटा सुरक्षित राख्न मिल्ने व्यवस्था छ,” उनले भने।
क्यामेरा प्रणालीको खरिद र जडान सरकारी खरिद ऐनअनुसार बोलपत्र प्रक्रियाबाट गरिएको हो। सम्झौता २०८२ जेठ १० गते भएको र असार मसान्तसम्म काम सक्ने गरी २ करोड ८४ लाख ११ हजार रुपैयाँ खर्च भएको प्रदेश प्रहरीको भनाइ छ।
सिसिटिभी निगरानी प्रणालीले साना घटना नियन्त्रणदेखि ठूलो अपराध अनुसन्धानमा समेत मद्दत गर्ने अधिकारीहरूको अपेक्षा छ।



