हेटौँडा । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जनले मंगलबार पत्रकार सम्मेलनमार्फत मन्त्रालयको एक वर्षे कार्यकाल प्रतिवेदन सार्वजनिक गरेका छन्। उनले सार्वजनिक गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न नीतिगत, संस्थागत तथा कार्यक्रमगत उपलब्धिहरू समेटिएका छन्।
प्रतिवेदनअनुसार नागरिक एपमार्फत डिजिटल लाइसेन्स प्रणाली लागू भएपछि दैनिक २५ देखि ३० हजार सवारी चालकले सो सुविधा लिइरहेका छन्। त्यस्तै, जरिवाना तिर्न पनि सोही एपमार्फत सहज भएको मन्त्रालयले जनाएको छ।
मन्त्री महर्जनले प्रदेशस्तरमै इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली सञ्चालन, ब्लूबुकलाई नागरिक एपमा समावेश, डिजिटलाइजेसन, ट्याबलेटमार्फत परीक्षा प्रणाली, महिला सवारी तालिम, बालश्रम न्यूनीकरण रणनीति, सडक सुरक्षा उपकरण खरिद तथा विद्युतीय सवारीसाधन प्रवर्द्धनलाई विगत एक वर्षका उल्लेख्य उपलब्धि भएको बताए।
उनले श्रम क्षेत्रमा नीति निर्माण, वैदेशिक रोजगारी व्यवस्थापन, रोजगार सिर्जना तथा राजस्व संकलनमा समेत मन्त्रालयले लक्ष्यभन्दा बढी उपलब्धि हासिल गरेको दाबी गरे। मन्त्रालयले गत आर्थिक वर्षमा १३ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा १३ अर्ब ४० करोड संकलन भएको छ।
मन्त्री महर्जनले प्रतिवेदन प्रस्तुत गर्दै बागमती प्रदेशमा श्रम, रोजगार र यातायात व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन दिगो कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे।



