हेटौँडा | बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले तीन मन्त्री नियुक्त गरेका छन्। उनले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्रिपरिषद्मा समावेश गरेका हुन्।
नव नियुक्त मन्त्रीमध्ये गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने माया श्रेष्ठ र गीता गुरुङलाई कुन मन्त्रालय दिने भन्ने विषय खुलाइएको छैन।
बागमतीमा नेपाली कांग्रेसले सम्हालेका पाँच मन्त्रालय मन्त्रीविहीन रहेका छन्। अहिले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा लम्सालले जिम्मेवारी सम्हाले पनि युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन, खानेपानी, ऊर्जा तथा सिंचाइ र सहकारी तथा गरिबी निवारण मन्त्रालय अझै नेतृत्वविहीन छन्।
यसअघि साउन ९ गते चार जना र साउन १३ गते एक जना गरी कांग्रेसका पाँच मन्त्रीले राजीनामा दिँदै मुख्यमन्त्री लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए।



