हेटौँडा | नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी भएका छन्। बुधबार सम्पन्न निर्वाचनमा उनले कुल ३७ मध्ये २२ मत प्राप्त गरे।
उनका प्रतिस्पर्धी मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले १४ मत मात्रै पाए। बानियाँको विजयसँगै लामालाई हटाएर नयाँ मुख्यमन्त्री चयन गर्ने प्रक्रिया अघि बढ्ने संकेत मिलेको छ।
तर, संसदीय दलको निर्वाचनमा पराजित भएका मुख्यमन्त्री लामाले भने राजीनामा नदिने अडान लिएका छन्। यसले बागमती प्रदेशको सत्ता समीकरणमा थप जटिलता ल्याउने देखिएको छ।



