हेटौँडा | बागमती प्रदेश सरकारको विषयमा नेकपा (एमाले) ले संस्थागत निर्णयलाई आधार मानेर अघि बढ्ने जनाएको छ। कांग्रेस संसदीय दलको निर्वाचनबाट अनुमोदित भएका व्यक्तिलाई संस्थागत रूपमा स्वीकार गर्ने निर्णय एमाले संसदीय दलले गरेको प्रमुख सचेतक मधुसुदन पौडेलले जानकारी दिए।
उनका अनुसार एमालेले व्यक्तिसँग सरोकार नराखी साझेदारीमा सरकारमा गएको हो। “संसदीय दलको नेतामै मुख्यमन्त्री हुने भएकाले इन्द्र हुन् वा बहादुर, एमालेलाई फरक पर्दैन,” पौडेलले स्पष्ट पारे।
तर मन्त्रिपरिषद् विस्तारमा भने एमाले सहमत छैन। प्रमुख सचेतक पौडेलका अनुसार मुख्यमन्त्री बहादुरसिंह लामाले आफूअनुकूल निर्णय गर्न खोजे पनि एमालेको समर्थन बिना मन्त्रिपरिषद् विस्तार सम्भव छैन। बुधबार नै तयारी भए पनि एमाले संसदीय दलले असहमति जनाएपछि अन्तिम समयमा रोकिएको र विहीबार तोकिएको मन्त्रीहरूको शपथग्रहणसमेत हुन नसक्ने अवस्था रहेको उनले बताए।



