मकवानपुर | हेटौँडा –१४ मयुरधापस्थित गुप्तेश्वर महादेव मन्दिर संरक्षण तथा व्यवस्थापन समितिले मन्दिर निर्माण तथा विकासका दीर्घकालीन योजनालाई अघि बढाउन फागुन ३ गतेदेखि नौदिनीय शिव महापुराण आयोजना गर्ने घोषणा गरेको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा समितिले विशेष पूजाआजा, भजन–कीर्तन र साँझको गङ्गा आरतीसहित धार्मिक कार्यक्रम सञ्चालन गरिने समितिकी अध्यक्ष गीता गौतमले जानकारी दिईन् ।
शिवरात्रीको अवसर पारेर सुरु हुने यस धार्मिक महोत्सवमा महापुराण स्थानिय देवी सुमी मानव (सुमित्रा चौलागाईं)ले वाचन गर्नेछिन्। भारतका विभिन्न स्थानमा पुराण वाचन गरिसकेकी उनले मकवानपुरमा पहिलोपटक यस्तो ठूलो धार्मिक कार्यक्रम सञ्चालन गर्न लागेको समितिले जनाएको छ ।
समितिकी अध्यक्ष गीता गौतमले नौ दिनसम्म निरन्तर विशेष पूजा, आराधना, भजन–कीर्तन तथा भक्तजन सहभागितालाई लक्षित कार्यक्रम सञ्चालन हुने बताइन्। उनका अनुसार आयोजनाको व्यवस्थापन तथा समन्वयका लागि ५१ सदस्यीय विशेष कार्यसमिति गठनको अन्तिम तयारी भइरहेको छ।
गौतमले भनिन्, “विगतका विवादलाई छेउमा राखेर, सबै मिलेर निस्वार्थ भावनाले यो महापुराण सफल बनाउन चाहन्छौँ। उद्देश्य अस्पष्ट हुने, व्यक्तितन्त्र चलाउने वा लोभलालचका कारण कार्यक्रम बिगार्ने प्रवृत्तिलाई समितिले व्यवस्थित निगरानी गर्नेछ।”
कार्यक्रमका अतिथि तथा जनज्योति मावि व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र ढुंगानाले गुप्तेश्वर मन्दिर विगतदेखि विवादमा परे पनि धार्मिक कार्यक्रमले यसको पहिचान पुनःस्थापित गर्ने अवसर प्रदान गर्ने बताए। उनले भने, “मन्दिरको सार्वजनिक जग्गा कसरी निजी व्यक्तिको नाममा पुग्यो भन्ने विषय अझै स्पष्ट छैन। जिम्मेवार पत्रकारहरूले तथ्य अनुसन्धानमार्फत वास्तविकता उजागर गर्नुपर्ने समय यही हो।”
समितिका सचिव कृष्णबहादुर थपलियाले मन्दिर दर्ता प्रक्रिया २०८२ असोज २ गते औपचारिक रूपमा सम्पन्न भइसकेको जानकारी दिए। उनका अनुसार हाल सरकारी स्वामित्वमा रहेका करिब ७ कठ्ठा जग्गालाई आधार बनाएर मन्दिर संरक्षण तथा निर्माण कार्य अघि बढाइँदै छ। उनले भने, “विगतका जग्गा विवादले धेरै समय खेर गइसक्यो। अब हामी सरकारी स्वामित्वको जग्गामै केन्द्रित भएर स्थायी समाधानका बाटोमा अगाडि बढ्छौँ।”
पत्रकार सम्मेलनमा धार्मिक, सामाजिक, राजनीतिक क्षेत्रका प्रतिनिधि तथा स्थानीयवासीहरूको सक्रिय उपस्थितिमा कार्यक्रममा आगामी आयोजनाको प्रारम्भिक योजना विस्तृत रूपमा प्रस्तुत गरिएको समितिले जनाएको छ।



