काठमाडौँ | केन्द्रीय सुरक्षा समितिले उम्मेदवारले छत खोल्न मिल्ने (रुफटफ) गाडी प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले निर्वाचन प्रयोजनका लागि यस्ता गाडी प्रयोग नगर्न निर्देशन दिएको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका प्रतिनिधि तथा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले सहभागी थिए। प्रदेश तथा जिल्ला सुरक्षा समितिका अधिकारीहरू पनि भर्चुअल माध्यमबाट बैठकमा जोडिएका थिए।
बैठकले देशभर उम्मेदवारहरूले रुफटफ गाडीबाट मत माग्ने प्रचलन बढ्दै गएको सन्दर्भमा सुरक्षाजन्य जोखिमलाई ध्यानमा राख्दै यस्तो अभ्यास निरुत्साहित गर्ने निर्णय गरेको जनाएको छ। सहसचिव काफ्लेले भने, “रुफटफ गाडी प्रयोग गर्दा उम्मेदवारको सुरक्षामा खतरा पर्न सक्ने निष्कर्षमा पुगिएको छ। त्यसैले निर्वाचन प्रयोजनका लागि यस्ता सवारीसाधन प्रयोगमा रोक लगाउने निर्णय गरिएको हो।”
बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र अहिलेसम्मको गतिविधिबारे समीक्षा गरिएको थियो। तयारी सन्तोषजनक रहेको निष्कर्ष निकाल्दै सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने निर्णय गरिएको छ।
केन्द्रीय सुरक्षा समितिले निर्वाचन अवधिभर जिल्ला सुरक्षा समितिको बैठक दैनिक रूपमा बस्न निर्देशन दिएको छ।
पछिल्लो समय केही दलका शीर्ष नेताहरूले प्रचार–प्रसारका क्रममा रुफटफ गाडी प्रयोग गर्दै आएको पृष्ठभूमिमा आएको यस निर्णयले आगामी चुनावी अभियानको स्वरूप परिवर्तन हुने देखिएको छ।




