देशकोशी प्रदेशसुनसरी–२ मा चौपक्षीय प्रतिस्पर्धा

सुनसरी–२ मा चौपक्षीय प्रतिस्पर्धा

इटहरी | आगामि प्रतिनिधिसभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ यसपटक कांग्रेस, एमाले, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच चौपक्षीय प्रतिस्पर्धाको केन्द्र बनेको छ। २०७९ को निर्वाचन परिणाम र त्यसपछि विकसित राजनीतिक परिस्थितिले यस क्षेत्रको चुनावी नतिजा अनिश्चित बनाएको विश्लेषण गरिएको छ।

२०७९ को निर्वाचनमा एमालेका भीमप्रसाद आचार्यले कांग्रेसका सीताराम मेहतालाई पराजित गरेका थिए भने २०७४ मा मेहता विजयी भएका थिए। यसपटक उम्मेदवार फेरबदल, गठबन्धन अभाव र नयाँ राजनीतिक शक्तिको उदयका कारण क्षेत्र खुला प्रतिस्पर्धाको मैदान बनेको छ।

यसपटक नेपाली कांग्रेसबाट १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य भइसकेका राजीव कोइराला, नेकपा (एमाले)बाट युवा संघ कोशी प्रदेश अध्यक्ष सुजन लामा, नेकपा (माओवादी केन्द्र)बाट केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री रामकुमारी चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कोशी प्रदेश महामन्त्री लालविक्रम थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

अघिसम्म कांग्रेस–एमाले केन्द्रित प्रतिस्पर्धा हुँदै आएको यस क्षेत्रमा दुवै दलको संगठन मजबुत मानिन्छ। तर पछिल्लो समय पुराना दलप्रति जनविश्वास कमजोर बन्दै जाँदा रास्वपाको प्रभाव बढेको देखिन्छ। थारू बाहुल्य क्षेत्र भएकाले रामकुमारी चौधरीले आफ्नो समुदायको मत आकर्षित गर्ने रणनीतिमा जोड दिएकी छन्।

कांग्रेसका उम्मेदवार राजीव कोइराला बेदाग र सादगी छविका नेता मानिन्छन्। यसअघि प्रदेशसभा सदस्य तथा संसदीय दलका नेता भइसकेका उनी सुनसरी कांग्रेसका दुई कार्यकाल सभापति पनि हुन्। संगठनभित्र सबै समूह समेट्ने क्षमता रहेको दाबी गर्ने कोइरालाले युवाको अपेक्षा र अग्रज पुस्ताको भरोसालाई सँगै सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन्।
“भावनाभन्दा नीतिमा आधारित राजनीति गर्छु। संघीय संसद् पुगेपछि सुनसरी–२ को समग्र विकासलाई प्राथमिकता दिन्छु,” कोइरालाले भने।
यद्यपि, कांग्रेसभित्र आन्तरिक गुटबन्दी र अघिल्लो निर्वाचनमा गठबन्धन हुँदाहुँदै क्षेत्र गुमाउनु पार्टीका लागि चुनौती बनेको छ।

एमालेले संगठनात्मक बलका आधारमा चुनाव जित्ने रणनीति अपनाएको छ। युवा संघ कोशी प्रदेश अध्यक्ष सुजन लामाले युवामाझ पकड बढाउँदै शिक्षा र स्वास्थ्यलाई प्रमुख एजेन्डा बनाएका छन्।
“घरदैलो अभियान, पुराना मतदातासँग संवाद र युवालाई केन्द्रमा राखेर अभियान अघि बढाएका छौं,” लामाले बताए।
तर, पार्टीभित्रको आन्तरिक असन्तुलन र पछिल्लो समय देखिएको जनअसन्तुष्टिले एमालेका लागि चुनौती थपिएको देखिन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले लालविक्रम थापालाई पुनः उम्मेदवार बनाएको छ। संगठन कमजोर भए पनि ‘वैकल्पिक राजनीतिक शक्ति’ को सन्देश र देशव्यापी लहरका कारण रास्वपाले कांग्रेस र एमालेका असन्तुष्ट मतदातालाई आकर्षित गरिरहेको छ।
“पुराना दलले अपेक्षित परिवर्तन दिन सकेनन्। राजनीति शुद्धीकरणका लागि हामी मैदानमा छौं,” थापाले भने।
यद्यपि, उम्मेदवारको व्यक्तिगत विवाद र संगठनात्मक सीमितताले रास्वपाको मत कति निर्णायक हुन्छ भन्नेमा अनिश्चितता रहेको जानकारहरू बताउँछन्।

थारू बाहुल्य क्षेत्रमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रामकुमारी चौधरीले समुदायकेन्द्रित अभियान अघि बढाएकी छन्। पूर्वराज्यमन्त्रीका रूपमा कृषि, पूर्वाधार, शिक्षा र सामाजिक क्षेत्रमा गरेको कामको आधारमा मतदाताको समर्थन प्राप्त हुने उनको विश्वास छ।
“अनुभव र कार्यसम्पादनको मूल्यांकनका आधारमा मतदाताले मलाई रोज्नेछन्,” चौधरीले भनिन्।

सुनसरी–२ मा इटहरी उपमहानगरपालिकाका १–५ र १६–२० वडा, रामधुनी नगरपालिकाका १–३ र ५ वडा, इनरुवा नगरपालिकाका १, २, ५, ६ र ९ वडा, देवानगञ्ज गाउँपालिका तथा हरिनगर गाउँपालिकाको वडा नम्बर ३ समेटिएको छ। यस क्षेत्रमा कुल १ लाख ५८ हजार ९१० मतदाता छन्।

यसपटकको निर्वाचनमा दलभन्दा पनि उम्मेदवारको व्यक्तिगत छवि, संगठनको सक्रियता, युवा मतदाता र अन्तिम समयमा हुने मत स्थानान्तरण निर्णायक हुने विश्लेषकहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img