निर्वाचनएमालेको चुनावी घोषणापत्र: ‘तत्काल ११ काम’, ५ आधारभूत घोषणा र समृद्धिका २५...

एमालेको चुनावी घोषणापत्र: ‘तत्काल ११ काम’, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई प्राथमिकता

हेटौँडा | नेकपा (एमाले) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। ‘समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन लक्ष्यसहित सार्वजनिक घोषणापत्रमा निर्वाचनपछिको पहिलो मन्त्रिपरिषद् बैठकबाटै सुरु गरिने ‘तत्काल गर्ने ११ काम’, विकासका लागि ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकताका रूपमा प्रस्तुत गरिएको छ।

अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्दै निर्वाचनपछि बन्ने सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले समयसीमा तोकेर ११ काम अघि बढाउने प्रतिबद्धता जनाए। उनका अनुसार खण्डहर बनेका सिंहदरबार, सर्वोच्च अदालत लगायत राज्यका संरचनाको पुनर्निर्माण, राजनीतिक स्थिरता कायम गर्दै अर्थतन्त्र सुधार र सुशासन सुदृढीकरण तत्कालीन कार्यसूचीमा पर्नेछ।

घोषणापत्रमा ‘देश पहिला’को सिद्धान्तलाई केन्द्रमा राख्दै संविधान, लोकतन्त्र र कानुनको सर्वोच्चता सुदृढ गर्ने, तथ्यमा आधारित नीति निर्माण गर्ने, समृद्धितर्फ अर्थतन्त्रलाई गतिशील बनाउने र मैत्रीपूर्ण विदेश सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता गरिएको छ। यसलाई एमालेले विकास र स्थिरताका आधारभूत स्तम्भका रूपमा प्रस्तुत गरेको छ।

घोषणापत्रले समृद्धिका २५ स्तम्भमार्फत आर्थिक वृद्धिदर तीव्र पार्ने, स्वदेशमै रोजगारी सिर्जना, आधुनिक र नागरिकमैत्री आवास, गाउँ–सहरको सन्तुलित विकास, स्वच्छ पानी र सरसफाइ, औद्योगिक उत्पादन वृद्धि, आयात घटाएर निर्यात बढाउने, आधुनिक कृषि, हरित ऊर्जा, सुरक्षित यातायात, डिजिटल पूर्वाधार, शिक्षा–स्वास्थ्य सुधार, पर्यटन प्रवर्द्धन, वित्तीय प्रणाली सुदृढीकरण, सुशासन र सार्वजनिक सेवा सुधारजस्ता क्षेत्रलाई समेटेको छ।

अध्यक्ष ओलीले पछिल्ला वर्षहरूमा देखिएको राजनीतिक अस्थिरता र तोडफोडबाट क्षति पुगेका सार्वजनिक संरचनाको पुनर्निर्माणलाई सरकारको प्राथमिक कार्यसूचीमा राख्ने बताएका छन्। घोषणापत्रमा स्थायित्वका लागि दलहरूबीच सहकार्य, निजी क्षेत्रलाई प्रोत्साहन र युवालाई रोजगारीमार्फत स्वदेशमै राख्ने नीति उल्लेख गरिएको छ।

एमालेले उत्पादनमुखी अर्थतन्त्र निर्माण, उद्योग विस्तार, कृषिमा आधुनिकीकरण र ऊर्जा उत्पादन–उपभोग बढाएर आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्ने लक्ष्य अघि सारेको छ। सहकारी क्षेत्रमा सुशासन, डिजिटल सेवाको विस्तार र सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी बनाउने एजेन्डालाई पनि घोषणापत्रले समेटेको छ।

घोषणापत्रमार्फत एमालेले आगामी कार्यकालमा ‘लक्ष्य तोकेर काम सम्पन्न गर्ने’ कार्यशैली अपनाउने दाबी गर्दै मतदातासँग विकास, सुशासन र समृद्धिका एजेन्डामा समर्थन मागेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img