काठमाडौं | नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरेको ‘प्रतिज्ञा’ नामक घोषणापत्रमा राजनीतिक रूपान्तरणलाई मुख्य प्राथमिकताका रूपमा अघि सारेको छ। गत भदौ २३–२४ मा देखिएको नवयुवा विद्रोहलाई सम्मान गर्दै कांग्रेसले पार्टीलाई पूर्ण रूपमा रूपान्तरित गरेको घोषणा गरेको छ।
घोषणापत्रमा सुशासनलाई मूल आधार मान्दै भ्रष्टाचारको समूल अन्त्य, विधिको शासन र जवाफदेही राजनीतिलाई केन्द्रीय एजेन्डा बनाइएको छ। कांग्रेसले ‘बदलियो कांग्रेस: सम्हाल्छौं परिवेश, बदल्छौं देश’ नारामार्फत राजनीतिक स्थिरता र समन्वयकारी भूमिकामा आफूलाई प्रस्तुत गरेको छ।
घोषणापत्रमा सुशासित नेपाल निर्माणका लागि पारदर्शी र प्रभावकारी शासन प्रणाली विकास गर्ने, सार्वजनिक संस्थाको साख पुनर्स्थापना गर्ने र युवाको राजनीतिमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उल्लेख छ। संघीयताको संस्थागत विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट अधिकार बाँडफाँट गर्ने, संघीयताको सबलीकरण र संविधानको समयानुकूल संशोधन गर्ने प्रतिबद्धता गरिएको छ। विगतका लोकतान्त्रिक उपलब्धिको स्वामित्व लिँदै कमजोरीबाट सिकेर संविधान कार्यान्वयनमा नेतृत्वदायी भूमिका खेल्ने कांग्रेसको भनाइ छ।
नवयुवा विद्रोहका घटनाको छानबिन, पीडितलाई न्याय तथा जेन–जी पुस्तासँग भएको सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धतामार्फत युवासँगको सम्बन्ध पुनर्निर्माण गर्ने लक्ष्य राखिएको छ।
कांग्रेसले ‘उदार, उत्पादनमुखी र न्यायमूलक अर्थतन्त्र’ निर्माण गर्ने लक्ष्य लिएको छ। घोषणापत्रमा रोजगारी सिर्जना, कृषि आधुनिकीकरण र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै पाँच वर्षमा १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। निजी क्षेत्रलाई प्रोत्साहन, विदेशी लगानी आकर्षण र हरित अर्थतन्त्र प्रवर्धन गर्दै आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा माथि पुर्याउने लक्ष्य उल्लेख गरिएको छ।
कृषि क्षेत्रमा किसानको आय दोब्बर बनाउने, सिँचाइ विस्तार, कृषि प्रशोधन उद्योग स्थापना तथा सहकारी र लघुवित्त सुधारको प्रतिबद्धता गरिएको छ। गरिबी निवारणका लागि गरिबी दर १० प्रतिशतभन्दा तल झार्ने र योगदानमा आधारित सामाजिक सुरक्षा विस्तार गर्ने भनिएको छ। ऊर्जा उत्पादन १० हजार मेगावाटमा पुर्याउने लक्ष्यसहित पर्यटनलाई आर्थिक इन्जिनका रूपमा विकास गर्ने कांग्रेसको योजना छ।
घोषणापत्रमा कूटनीतिलाई डायस्पोरा केन्द्रित बनाइएको छ। ‘एक पटकको नेपाली, सधैँको नेपाली’ नारासहित गैरआवासीय नेपालीको नागरिकता निरन्तरता, मतदान अधिकार र पैतृक सम्पत्ति सुरक्षाको व्यवस्था गर्ने प्रतिबद्धता गरिएको छ। दोस्रो पुस्तासँग सम्बन्ध सुदृढ गर्न ‘ज्ञान र नवप्रवर्तन केन्द्र’ स्थापना गर्ने उल्लेख छ।
वैदेशिक रोजगारीलाई सुरक्षित, सम्मानजनक र मर्यादित बनाउने, दूतावासमार्फत श्रमिक हक संरक्षण तथा स्वदेश फर्केकाको पुनर्स्थापनामा सहयोग गर्ने भनिएको छ। ब्रिटिश गोर्खाको हकका लागि बेलायतसँग कूटनीतिक संवाद बढाउने, सीमावर्ती तथा नदी नियन्त्रण परियोजनामा छिमेकीसँग सहकार्य गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समेटिएको छ। आर्थिक कूटनीतिमार्फत डायस्पोराबाट लगानी, प्रविधि हस्तान्तरण र नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरण गर्ने लक्ष्य राखिएको छ।
कांग्रेसले स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र समावेशी विकासलाई सामाजिक रूपान्तरणको आधार बनाएको छ। सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा, आधारभूत स्वास्थ्य सेवा निःशुल्क र स्वास्थ्य बीमा विस्तार गर्ने प्रतिबद्धता गरिएको छ। अस्पताल पूर्वाधार विकास र जनस्वास्थ्य कार्यक्रम विस्तार गर्ने योजना छ।
शिक्षामा गुणस्तरीय र समावेशी शिक्षा, प्राविधिक शिक्षाको विस्तार र डिजिटल साक्षरता प्रवर्धन गर्ने उल्लेख छ। महिला, दलित, आदिवासी जनजाति र सीमान्तकृत समुदायको प्रतिनिधित्व र सशक्तीकरणलाई प्राथमिकता दिइएको छ। योगदानमा आधारित सामाजिक सुरक्षा विस्तार, वृद्धभत्ता वृद्धि र विपद्का बेला द्रुत राहतको व्यवस्था गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख छ।
घोषणापत्रमा जलवायु परिवर्तनलाई प्रमुख चुनौती मानेर हरित विकासलाई प्राथमिकता दिइएको छ। वन क्षेत्र ४६ प्रतिशत कायम राख्ने, प्रदूषण नियन्त्रण, स्वच्छ ऊर्जा प्रवर्धन र प्लास्टिक प्रदूषण अन्त्य गर्ने प्रतिबद्धता गरिएको छ। जलवायु अनुकूलन योजना, हरित रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय जलवायु वित्त प्राप्तिका लागि पहल गर्ने तथा हिमालय क्षेत्रीय कूटनीतिमा नेतृत्व गर्ने लक्ष्य राखिएको छ। विपद् व्यवस्थापनका लागि पूर्वसूचना प्रणाली, सुरक्षित बस्ती विकास र जोखिम न्यूनीकरणमा जोड दिइएको छ।
कांग्रेसले सभ्यता र संस्कृति संरक्षण, खेलकुद पूर्वाधार विस्तार र डिजिटल रूपान्तरणलाई समेत घोषणापत्रमा समेटेको छ। सांस्कृतिक धरोहर संरक्षण र सांस्कृतिक पर्यटन विकास गर्ने, खेलाडीलाई प्रोत्साहनसहित राष्ट्रिय खेल नीति कार्यान्वयन गर्ने योजना छ। ‘डिजिटल नेपाल’ अवधारणाअन्तर्गत साइबर सुरक्षा, ई–गभर्नेन्स विस्तार र सूचना प्रविधि क्षेत्रमा एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। पर्यटन पूर्वाधार विकास र साहसिक पर्यटन प्रवर्धन गर्दै डायस्पोरासँग जोडेर पर्यटन क्षेत्रलाई आर्थिक योगदानसँग आवद्ध गर्ने रणनीति अघि सारिएको छ।
समग्रमा, कांग्रेसको घोषणापत्र ‘प्रतिज्ञा’ ले राजनीतिक रूपान्तरण, सुशासन, आर्थिक समृद्धि, कूटनीतिक सक्रियता, सामाजिक न्याय र हरित विकासलाई एउटै रोडम्यापमा बाँध्ने प्रयास गरेको छ। आगामी पाँच वर्षलाई समावेशी, दिगो र समुन्नत नेपाल निर्माणको आधार वर्ष बनाउने लक्ष्यसहित कांग्रेसले मतदातासँग समर्थन मागेको छ।



