सुर्खेत | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि आफ्नो पाँच वर्षे ‘बाचा पत्र’ कर्णालीको राजधानी वीरेन्द्रनगरबाट सार्वजनिक गर्दै अभियानको प्राथमिकता भेग–केन्द्रित विकासतर्फ मोडेको सन्देश दिएको छ। ‘परिवर्तन उद्घोष’ नाम दिइएको सभामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले कर्णालीको भूगोल, उत्पादन र सम्भावनालाई केन्द्रमा राख्दै ‘दुई तिहाइ दिनुस्, देश बदल्छौं’ भन्ने राजनीतिक आह्वान अघि सारे।
कर्णालीबाट घोषणापत्र सार्वजनिक गर्नु संयोग नभई ‘पछाडि पारिएको भेगलाई अब पछाडि नपार्ने’ राजनीतिक प्रतिबद्धताको संकेत भएको सभापति लामिछानेले बताए। कालिकोटको रास्कोटमा अस्पताल स्थापना गरेको स्मरण गर्दै उनले कर्णालीप्रतिको व्यक्तिगत सरोकार जोडेर जनभावना समेट्ने प्रयास गरे। बहुमत पाए पाँच वर्षमै ‘परिणाम देखिने परिवर्तन’ गर्ने बाचा गर्दै उनले काम नगरे ‘घण्टीले आफूहरूलाई नै बजाउन’ जनतालाई चुनौतीसमेत दिए।
सभामा रास्वपाका नेताहरूले कर्णालीलाई ‘प्रयोगशाला’ बनाइएको विगतप्रति आलोचना गर्दै अब ‘अवसरको भेग’ बनाउने दाबी गरे। लामिछानेले रोग, भोग, गरिबी र अशिक्षाको बोझ कर्णालीले बोकेको उल्लेख गर्दै यसबाट मुक्ति दिलाउने जिम्मेवारी रास्वपाले लिने दाबी गरे। वरिष्ठ नेता बालेन शाहले कर्णालीको सभ्यता, इतिहास र प्रकृतिजन्य सम्भावनाको चर्चा गर्दै यहाँको ‘गहिराइ’ अहिलेसम्म राज्यले नबुझेको तर्क राखे।
बालेनले कर्णालीका जडीबुटी, स्याउ र मार्सी चामललाई उदाहरण दिँदै ‘उत्पादन देशभर पुर्याउने’ प्रतिवद्धता जनाए। यार्सागुम्बा विश्व बजारसम्म पुग्दा कर्णालीका कृषि उत्पादन देशभित्रै बजार नपाउनु राज्यको असफलता भएको उनको भनाइ थियो। कर्णालीको पर्यटन, नदी–ताल र सांस्कृतिक सम्पदालाई आर्थिक इन्जिन बनाउने रोडम्यापमा रास्वपाले जोड दिएको छ।
वीरेन्द्रनगरको घण्टाघर परिसरमा भएको सभा समयमै टुंग्याइएको थियो। शीर्ष नेताहरूले लामो भाषणभन्दा संक्षिप्त र केन्द्रित सन्देशमा जोड दिए—सभापति लामिछानेले करिब १४ मिनेट बोले भने बालेन शाहको तीन मिनेटको सम्बोधन सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आयो। परम्परागत दलका लामो आमसभाको विपरीत रास्वपाको ‘छोटो तर सिधा’ क्याम्पेन शैलीलाई समर्थकहरूले ‘डेलिभरी क्याम्पेन’को संकेतका रूपमा व्याख्या गरे।
उपसभापति डोलप्रसाद अर्यालले समानुपातिक र प्रत्यक्ष दुवैतर्फ ‘घण्टी’ चिन्हमा मतदान गरी दुई तिहाइ बहुमत दिन आग्रह गरे। अर्का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपाको बाचा पत्र मध्यम वर्गलाई केन्द्रमा राखेर तयार गरिएको बताउँदै सुशासन, रोजगारी, गुणस्तरीय पूर्वाधार र विदेशमा रहेका नेपालीका मुद्दालाई जोड दिए।



