काठमाडौं | दाङको तुलसीपुर उपमहानगरपालिका–५ विरेन्द्र चोकमा नेकपा एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएको आरोपमा ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रेशम बोहराका अनुसार फागुन ७ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई स्वागत गर्न उपस्थित भीडमा केही अपरिचित व्यक्तिहरूले एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमा देखिएपछि अनुसन्धान सुरु गरिएको थियो। सोही घटनामा संलग्न रहेको पहिचान भएका तुलसीपुर उपमहानगरपालिका–७ कालाखोला बस्ने ५५ वर्षीय बस्नेतलाई शुक्रबार नियन्त्रणमा लिइएको हो।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ। उक्त गतिविधिले सामाजिक सद्भाव र शान्ति–सुरक्षामा खलल पुर्याउने भएकाले कानुन बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक बोहराले बताए।
प्रहरीका अनुसार चुनावी अवधिमा शान्ति–सुरक्षा कायम राख्न तथा कुनै पनि किसिमका उक्साहटपूर्ण गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरिएको छ।



