बागमती प्रदेशमकवानपुररास्वपा मकवानपुरका सभापति पराजुली पार्टी विकल्पको तयारीमा, कांग्रेसमा फर्किने चर्चा; ‘भोलि थाहा...

रास्वपा मकवानपुरका सभापति पराजुली पार्टी विकल्पको तयारीमा, कांग्रेसमा फर्किने चर्चा; ‘भोलि थाहा हुन्छ’

हेटौँडा | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका जिल्ला सभापति भरत पराजुलीले पार्टी परिवर्तनको तयारीमा रहेको संकेत दिएका छन्। इन्फो नेपालसँग टेलिफोन संवादमा उनले हाल आफू आबद्ध दलको विकल्प खोजिरहेको बताएका हुन्। आफ्नो आगामी राजनीतिक कदमबारे उनले “भोलि थाहा हुन्छ” भन्दै तत्काल कुनै औपचारिक घोषणा नगरेको स्पष्ट पारे।

भोली हुने कार्यक्रम बारे बुझ्दा समेत व्यवस्थापन र नेतृत्वसँगको समन्वयप्रति असन्तुष्टि जनाउँदै पराजुलीले जिल्ला सभापति हुँदाहुँदै पनि आधिकारिक सूचना नआएको बताउछन् । उनले भने, “अब रवि र बालेन आउने भनेर हल्ला चल्यो, फेरि बालेन नआउने भनेर आज फेरि त्यही हल्ला चल्यो। अब यो पार्टीको खोई सभापतिलाई केही इन्फर्मेसन छैन, पत्राचार छैन, सर्कुलेसन छैन, कसरी थाहा पाउनु?”

प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाएपछि उनी असन्तुष्ट बनेको पार्टीभित्र पनि चर्चा छ। पार्टी परिवर्तनको चर्चाबारे सोध्दा पराजुलीले यसलाई हल्ला मात्र भने पनि आगामी निर्णयबारे ढोका खुला राखेका छन्। उनले भने, “हल्ला मात्रै राखौँ, अब भोलितिर आउँछ केही कुरा, भोलि थाहा हुन्छ।” कांग्रेस प्रवेशको चर्चाबारे प्रश्नमा उनले “सम्भवतः अब हेरौँ न” भन्दै आफ्नो निर्णय खुला रहेको संकेत दिएका छन्।

पराजुली यसअघि कांग्रेसमा राजनीतिक यात्रा गरी पछि रास्वपामा आबद्ध भई पार्टी विस्तारसँगै जिल्ला तहको नेतृत्व गर्दै आएका थिए। हाल आफू आबद्ध दलको विकल्प खोजिरहेको कुरा उनले प्रत्यक्ष रूपमा स्वीकार गरेका छन्। “अँ विकल्प खोजेर आएको, झन् कस्तो विकल्प पर्यो पर्यो,” पराजुलीको भनाइ छ।

देश बनाउने सन्दर्भमा कुन नेतृत्व र कुन पार्टी उपयुक्त हुन्छ भन्ने विषयमा सोचिरहेको उनले बताए। “अब देश बनाउने जोगाउने अब कसलाई चाहिँ चुन्ने, कसलाई छान्ने, के गर्दा अब देशलाई राम्रो हुन्छ त्यो मैले पनि त सोच्नुपर्यो नि। अब देश नै खत्तम भइसक्यो, विकल्प त हेर्नुपर्छ नि, अब एउटा पार्टी भनेर बस्ने कुरो छैन के,” उनले भने।

रास्वपा मकवानपुरको संगठन निर्माणमा आफूले भूमिका खेलेको दाबी गर्दै पराजुलीले पछिल्लो समय संगठन बिग्रिँदै गएको गुनासो गरे। “मैले बनाएको त हो नि, बनाएर हुँदो रहेनछ, बिगार्दै बसेका रहेछन् हेर्दा हेर्दै,” उनले भने।

यसैबीच, बजारमा पराजुली कांग्रेस प्रवेश गर्ने चर्चा तीव्र छ। तर उनले औपचारिक निर्णय सार्वजनिक नगर्दै “अहिले केही आउँदैन, नखोतल्नु” भन्दै तत्काल निष्कर्ष ननिकाल्न आग्रह गरेका छन्। उनका अनुसार हाल विभिन्न राजनीतिक नेतृत्वसँग संवाद र भेटघाट भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img