धादिङ| पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदी नजिकै त्रिशूली नदी किनारमा खस्दा १८ जनाको मृत्यु भएको छ।
मध्यरातमा भएको दुर्घटनामा १२ जना पुरुष र ६ जना महिलाको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए। मृतकमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेको खुलेको छ।
दुर्घटनामा परेका २६ जनालाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ। केही घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ भने अधिकांशलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।
प्रहरीका अनुसार बसमा कुल ४४ जना यात्रु सवार थिए। पोखराबाट २८ जना यात्रु चढेको प्रारम्भिक सूची प्राप्त भएको र बाँकी यात्रु बाटोको बीचबाट चढेको अनुमान गरिएको छ।
मध्यरातमा दुर्घटना भएकाले उद्धार कार्यमा केही कठिनाइ भए पनि जिल्ला प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासीको सक्रियतामा सबै घाइतेको उद्धार सम्पन्न गरिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



