बागमती प्रदेशमकवानपुरमकवानपुर–२ मा २५ वर्षीय प्रशान्तले ढालिदिए ३६ वर्ष पुरानो राजनीतिक किल्ला

मकवानपुर–२ मा २५ वर्षीय प्रशान्तले ढालिदिए ३६ वर्ष पुरानो राजनीतिक किल्ला

हेटौँडा | मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा यसपटक मतदाताले परम्परागत राजनीतिक शक्ति भन्दा नयाँ पुस्तालाई रोजेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २५ वर्षीय प्रशान्त उप्रेतीले नेकपा एमालेका स्थापित नेता महेशकुमार बर्तौलालाई १२ हजार १०१ मतान्तरले हराउँदै ऐतिहासिक जित निकालेका छन्।

निर्वाचन परिणाम अनुसार उप्रेतीले ३१ हजार ७२५ मत प्राप्त गर्दा बर्तौलाले १९ हजार ६२४ मत मात्रै पाए। नेपाली कांग्रेसका बुद्ध लामाले १५ हजार ४३६ मत ल्याउँदै तेस्रो स्थान हासिल गरे भने नेपाल कम्युनिस्ट पार्टीका लवशेर विष्ट पनि करिब सोही हाराहारीमा मत ल्याउँदै पछि परे। यस क्षेत्रमा कुल ९१ हजार २४१ मत खसेको निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यले जानकारी दिएका छन्।

उप्रेती मकवानपुरको परम्परागत राजनीतिक वृत्तमा परिचित अनुहार होइनन्। उनी काठमाडौँमा होटल तथा पर्यटन व्यवसाय गर्दै आएका युवा व्यवसायी हुन्।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को कार्यकालमा उनी सचिवालयमा आईटी व्यवस्थापन हेर्ने जिम्मेवारीमा थिए। रास्वपाले उम्मेदवार बनाएपछि भने उनी चुनाव लड्न मकवानपुर फर्किएका थिए।

राजनीतिक अनुभव कम भए पनि युवा, नयाँ सोच र परिवर्तनको सन्देशका कारण मतदाताले उनलाई समर्थन गरेको विश्लेषण गरिएको छ।

मकवानपुर–२ लामो समयदेखि कम्युनिस्ट दलहरूको बलियो क्षेत्र मानिन्थ्यो।

२०४६ सालपछि भएका अधिकांश निर्वाचनमा यस क्षेत्रबाट एमाले वा माओवादीका उम्मेदवार विजयी हुँदै आएका थिए। २०७४ मा विरोध खतिवडा र २०७९ मा महेशकुमार बर्तौला एमालेबाट निर्वाचित भएका थिए।

तर यसपटक उप्रेतीको जितसँगै तीन दशकभन्दा बढी समयदेखि कायम रहेको कम्युनिस्ट वर्चस्व अन्त्य भएको छ।

विश्लेषकका अनुसार उप्रेतीको जितमा हेटौँडा उपमहानगरपालिकाका ४ वडा, मनहरी गाउँपालिका र मकवानपुरगढीका ४ वडाबाट आएको मत निर्णायक बनेको छ।

विकट क्षेत्रहरू राक्सिराङ, कैलाश, भीमफेदी, इन्द्रसरोवर र थाहा नगरपालिकामा भने प्रमुख दलहरूबीच मत लगभग बराबर देखिएको छ।

२५ वर्षीय उप्रेती अब प्रतिनिधिसभामा कान्छो सांसदका रूपमा प्रवेश गर्नेछन्।

उनको विजयलाई मकवानपुरमा मात्र होइन, देशव्यापी रूपमा पनि युवा नेतृत्वप्रतिको बढ्दो आकर्षणको संकेतका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img