काठमाडौं | गर्मी मौसमसँगै बढ्दो घाम र प्रदूषणले छालामा नकारात्मक असर पार्न थालेको छ। कडा घामका कारण छाला डढ्ने, कालो हुने तथा प्राकृतिक चमक हराउने समस्या धेरैमा देखिन थालेको छ। यस्तो अवस्थामा छालाको हेरचाहका लागि सही दिनचर्या अपनाउन विशेषज्ञहरूले सुझाव दिएका छन्।
अहिले धेरैजसोले छालाको कालोपन हटाउन विभिन्न ब्यूटी क्रिम प्रयोग गर्ने गरे पनि तीमा प्रयोग हुने केमिकलले दीर्घकालीन रूपमा छालालाई हानी पुर्याउन सक्छ। त्यसैले प्राकृतिक उपायहरू प्रयोग गर्नु सुरक्षित र प्रभावकारी विकल्प मानिन्छ।
छालाको हेरचाहका लागि घरमै पाइने सामग्री प्रयोग गरेर सजिलै उपाय अपनाउन सकिन्छ। कागतीको रसमा भिटामिन ‘सी’ प्रशस्त हुने भएकाले यसले छालाको टोनिङ कम गर्न सहयोग गर्छ। गुलाबजलसँग मिसाएर प्रयोग गर्दा अझ राम्रो नतिजा देखिन्छ।
त्यसैगरी, एलोभेरा जेलले छालालाई हाइड्रेट राख्दै कालोपन कम गर्न मद्दत गर्छ। ताजा एलोभेरा प्रयोग गर्दा छालामा प्राकृतिक चमक फर्किन सहयोग पुग्ने विश्वास गरिन्छ।
दही र बेसारको मिश्रण पनि प्रभावकारी घरेलु फेसप्याकका रूपमा प्रयोग गर्न सकिन्छ। दहीमा रहेको ल्याक्टिक एसिडले छालालाई एक्सफोलिएट गर्ने र बेसारमा पाइने एन्टिअक्सिडेन्टले छालाको रंग सुधार गर्ने काम गर्छ।
ओटमिल स्क्रबले छालालाई गहिरो रूपमा सफा गर्ने भएकाले मृत कोशिका हटाउन उपयोगी मानिन्छ। दूधसँग मिसाएर हल्का मसाज गर्दा छाला मुलायम बन्ने र टोनिङ कम हुने बताइन्छ।
यस्तै, टमाटरमा पाइने लाइकोपीनले छालालाई सूर्यको हानिकारक किरणबाट जोगाउन मद्दत गर्छ। नियमित प्रयोगले छालामा चमक ल्याउने र नरम बनाउने विश्वास गरिएको छ।
विशेषज्ञहरूका अनुसार गर्मी मौसममा पर्याप्त पानी पिउनु, घाममा निस्कँदा सनस्क्रिन प्रयोग गर्नु र छालालाई सफा राख्नु अत्यन्त आवश्यक छ। प्राकृतिक उपाय अपनाउँदा छालामा साइड इफेक्टको जोखिम पनि कम हुने उनीहरूको भनाइ छ।
(एजेन्सी सहयोगमा)



