समाजमिडिया सम्मेलनद्वारा १२ बुँदे हेटौँडा घोषणापत्र जारी

मिडिया सम्मेलनद्वारा १२ बुँदे हेटौँडा घोषणापत्र जारी

हेटौँडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनामा हेटौँडामा सम्पन्न मिडिया सम्मेलन तथा पाँचौँ साधारण सभाले १२ बुँदे हेटौँडा घोषणापत्र जारी गरेको छ । तीन दिनसम्म सञ्चालन भएको सम्मेलनले पत्रकारलाई निर्वाध रूपमा सूचनामा पहुँच सुनिश्चित गर्नुपर्ने, समाचार लेखेकै आधारमा पत्रकारमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत फौजदारी अभियोग लगाउने प्रवृत्ति रोक्नुपर्ने र पत्रकारमाथि हुने अप्रत्यक्ष धम्की, धरपकड तथा निगरानीजस्ता गतिविधि अन्त्य गर्न माग गरेको छ ।

घोषणापत्रमा संविधानले सुनिश्चित गरेको मौलिक हक, संघीयताको मर्म र खुला अर्थनीतिविपरीत हुने गरी निजी सञ्चारमाध्यममाथि गरिएको विज्ञापन नीतिसम्बन्धी विभेदकारी निर्णय तथा परिपत्र फिर्ता लिन संघीय सरकारसँग आग्रह गरिएको छ । सम्मेलनले स्वतन्त्र सञ्चारमाध्यमको प्रवर्द्धन गर्ने नीति लिनुपर्नेमा जोड दिएको छ ।

सम्मेलनले सञ्चारकर्मीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराई पेशागत सुरक्षाको वातावरण निर्माण गर्न पनि माग गरेको छ । सम्मेलनको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले प्रदेशका श्रमजीवी पत्रकारलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने बताएका थिए ।

बागमती प्रदेशका उपत्यकाबाहेक १० जिल्लाका पत्रकार सहभागी सम्मेलनमा करिब ११० जना सञ्चारकर्मीको उपस्थिति रहेको थियो । सम्मेलनले संघ, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्र संविधानमा स्पष्ट रहेको अवस्थामा प्रदेश र स्थानीय सरकारलाई हस्तक्षेप गर्ने गरी संविधान र कानुनविपरीत परिपत्र गर्ने कार्य तत्काल रोक्न संघीय सरकारसँग माग गरेको छ ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारू मगरले हेटौँडा घोषणापत्रमार्फत पत्रकारिताको स्वतन्त्रता, सूचनाको अधिकार र सञ्चारकर्मीको पेशागत सुरक्षाका विषयलाई प्राथमिकताका साथ उठाइएको बताए । उनले तीनै तहका सरकारलाई संविधान र कानुनको सीमाभित्र रहेर सञ्चार क्षेत्रसँग सहकार्य गर्न आग्रह गरिएको जानकारी दिए ।

घोषणापत्रमा बन्द रहेको हेटौँडा कपडा उद्योग, रुग्ण अवस्थामा रहेको हेटौँडा सिमेन्ट उद्योगलगायत बागमती प्रदेशभित्रका उद्योगधन्दा तथा कलकारखाना सञ्चालन गरी रोजगारीको अवसर सिर्जना गर्नसमेत माग गरिएको छ । यस्तै, सरकारले सुशासन प्रवर्द्धनका लागि गरिरहेका कामप्रति समर्थन जनाउँदै निरंकुश बाटोबाट नभई लोकतान्त्रिक विधि र प्रक्रियाबाट सुशासन कायम गर्नुपर्नेमा जोड दिइएको छ ।

सम्मेलनले बागमती प्रदेशभित्र नेपाल पत्रकार महासंघका जिल्ला शाखाको नाममा भोगाधिकार प्राप्त गरी संरचना निर्माण भएका भवनहरूको भोगाधिकार कायम राख्न पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img